२४ भदौ, काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरुसँग निर्वाचन अयोगले निवेदन माग गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना निकालेर आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निवेदन दिन आग्रह गरेको हो । प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमध्ये एउटामात्रै भाग लिने कि दुवैमा लिने भन्ने स्पष्ट खुलाएर निवेदन दिन आयोगले दलहरुलाई गरेको छ ।

प्रदेशसभामा पनि कुनै खास–खास प्रदेशमा मात्रै हो कि सबैमा भाग लिने हो त्यो पनि खुलाउन आयोगले भनेको छ । निवेदनमा खुलाउनुपर्ने ढाँचासहित सार्वजनिक गर्दै आयोगले निवेदन दिनका लागि दुई दिनको समय निर्धारण गरेको छ ।

अव चुनावमा भाग लिने दलहरुले भोली भदौ २५ गतेदेखि २७ गतेसम्ममा आयोगमा निवेदन दिइसक्नु पर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिने दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले स्पष्ट पारेको छ ।