३ भदौ, गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताए ।

नाम, थर, वतन केही नखुलेको अन्दाजी ४० वर्षीया महिलाको ६, ७ दिनअघि मृत्यु भई अनुहार, मुख, नाक, र शरीरको विभिन्न भागमा किरा परेको तथा पूरै शरीर कुहिएको अवस्थामा शव फेला परेको हो ।

आज बिहान ११ बजे स्थानीय महिला घाँस काट्न ऊखुघारतिर जाँदा मृतक महिलाको शव गन्हाएपछि उनीहरुले इलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए । रासस