१६ साउन, काठमाडौं ।

कृषिमन्त्री रामकृष्ण यादवले आफूले केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि आफूले केही दिनभित्रै नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, त्यसैले यो क्षेत्रलाई सवल र उत्पादनमुखी बनाउनको लागि मैले छिट्टै अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा योजनाहरु सार्वजनिक गर्दैछु, म पनि किसानको छोरा हुँ।’

उनले नेपाल कृषि प्रधान देश भएकोले कृषिको व्यवस्थापन गर्नु ठूलो दायित्व भएको बताए । उनले भने, ‘म पनि किसानको छोरा हुँ, किसानका समस्याहरु मलाई पनि राम्रोसँग थाहा छ, किसानलाई मल खाद्य उपलब्ध गराउनेछु।’ उनले कृषि मन्त्रालयमा विद्धान, वैज्ञानिक तथा विज्ञहरुको उपस्थिति राम्रो भएकोले हामी किसानमुखी योजनाहरु अघि सार्ने विश्वास दिलाए ।

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरि आफूले कार्यक्रम ल्याउने स्पष्ट समेत पारे । उनले तराई मद्देशको विभिन्न जिल्लाहरुमा ५० प्रतिशतमात्रै खेती भएकोले अब यसलाई बढाउनको लागि आफूले सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यान दिने जनाए । उनले सुख्खा क्षेत्रमा तत्कालै आवश्यक सहयोग गर्ने तयारी भैरहेको समेत जनाए ।