कुशल श्रेष्ठ
चीनमा विगत २० वर्षदेखि मानिसहरूमा ‘सेक्स’प्रतिको मनोवृत्ति परिवर्तन हुँदै आएको छ।
चीनकी पहिलो महिला यौनविशेषज्ञ ‘ली यिनही’ले बीबीसीसँगको अन्तरवार्तामा भनिन्- “सन् १९८९ मा आफैले गरेको सर्वेक्षणमा १५.५०% मानिसहरू विवाहभन्दा पहिला यौन सम्बन्धमा संलग्न हुने गर्दथे। तर २ वर्ष अगाडिको सर्वेक्षणमा यो सङ्ख्या बढेर ७१% भएको मैले पाएँ।”
ली यिनही यस्तो अवस्थालाई ‘क्रान्ति’ शब्दको प्रयोग गर्छिन्। उनी भन्छिन् कि सन् १९९७ भन्दा पहिला विवाहपूर्वको यौन सम्बन्धलाई ‘गुण्डागर्दी’ मानिन्थ्यो। यसको लागि कानूनी कारवाही पनि हुन सक्थ्यो। तर अहिले यौनसम्बन्धको साथै पोर्न, वेश्यावृत्ति र ‘स्विङ्गर्स पार्टी’को सङ्ख्या समेत बढ्न थालेको छ।
ब्रुकिङ्ग्स इन्स्टिच्यूटमा भाषण दिने क्रममा उनले सन् १९९६ मा चीनको एक बाथहाउसको मालिकलाई वेश्यावृत्ति गरेको आरोपमा मृत्युदण्डको सजाय भएको कुरा बताएकी थिइन्। तर आजको दिनमा यस्ता अपराधलाई अधिकतम सजाय भनेको व्यवसाय बन्द गरिदिने हुन्छ।
यसैगरी सन् १९८० सम्म पोर्न सामग्री छाप्नेलाई पनि मृत्युदण्ड दिने गरिन्थ्यो। तर अहिले यस मुद्दाको सजायमा कमी गरिएको छ। ‘स्विङ्गर्स पार्टी’ अझै पनि गैरकानूनी नै छ, तरपनि कति ठाउँमा यसको आयोजना हुने गर्दछ।
उनी भन्छिन्- “कसैले यसलाई उजुरी नै गर्दैनन्, त्यसैले नै यसमा कानूनको ध्यान गैरहेको छैन।”
ली ले सन् १९८०को दशकमा अमेरीकामा सामाजिक विज्ञान अध्ययन गरेकी थिइन्। त्यसपश्चात जब उनी चीन फर्किइन्, तब उनले त्यतिबेलासम्म पनि माओको समयकै वातावरण कायम भैरहेको पाइन्।
कम्यूनिस्ट शासनको सुरुवाती दिनहरूमा प्रेम सम्बन्धी लेख्ने कामलाई देशद्रोह मानिन्थ्यो। सन् १९५० देखि मात्रै प्रेम सन्बन्धी लेखहरू लेख्न सहज वातावरण बनेको थियो। तर सन् १९८० सम्मपनि यौनको बारेमा केहि कुरा लेख्नेबित्तीकै सजाय हुन्थ्यो।
सन् १९९८ मा ली ले ‘द सबकल्चर अफ होमोसेक्सुअलिटी’ नामक पुस्तक लेखिन्। तर उनको यो पुस्तक विशिष्ट मानिसहरूले मात्रै किन्न पाउँथे।
उनले बीबीसीसँग भनिन्- “मलाई किताबको सबै प्रतिहरू जलाउन आदेश आयो, तर त्यतिबेलासम्म करीब ६० हजार प्रति पुस्तक बिक्री भैसकेकोले त्यो सम्भव हुन सकेन।”
त्यतिबेला चीनका कुनै प्रकाशकले पनि समलिङ्ग सम्बन्धी उनको पुस्तकको अनुवाद गर्न मानेनन्। उनले हङ्गकङ्ग पुगेर प्रकाशक खोज्नुपरेको बताइन्।
तर अहिले स्थिति बदलिँदै गएको छ। कम्यूनिस्ट पार्टीले यौनलाई व्यक्तिगत कुराको रूपमा हेर्न थालेको छ।
सन् २०११ मा ‘चाइना डेली’को साङ्घाई प्राइड मार्चमा छापिएको एक खबरले चीनको नीति एकाएक परिवर्तन भएको ली बताउँछिन्। अहिले चीनका आधिकारिक मीडियाले पनि समलैङ्गिक समुदायको बारेमा लेख्न थालेका छन्।
चीनको अनलाइन भिडियो प्लाटफर्म ‘आइचीई’मा किशोरीहरूका समलैङ्गिक सम्बन्धमा बनेको एक नाटक ‘एडिक्सन’ खुब चर्चित भएको थियो। तर पछि कुनै कारण बिना नै त्यसलाई हटाइयो।
ली ले चीनियाँ संसदको सामुन्ने समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने कुराको प्रस्तावा राखेको पनि बताइन्। उनी भन्छिन्- “समलैङ्गिकतालाई स्वीकार गर्नु नै असल हुन्छ।”