७ साउन, काठमाडौं ।

सरकारले आफैँ मेडिकल कलेज सञ्चालनको गृहकार्य थालेको छ । कैलालीको गेटामा एमबिबिएसमा एक सय विद्यार्थीलाई अध्यापन गराउने गरी कक्षा सञ्चालनको तयारी गरिएको हो ।

मन्त्रिपरिषद्बाट मेडिकल कलेज पूर्वाधार विकास समिति (गठन) आदेश ०७१ पारित भएको छ । पूर्वाधार विकासका लागि सरकारले यस वर्ष बजेटसमेत विनियोजन गरेको छ । शिक्षा मन्त्रालयले गुरुयोजना तयार गरी वातावरणीय प्रभाव मूल्यांकनसमेत सकेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सुदूरपश्चिममा मेडिकल कलेज नभएका कारण सरकार आफैँले अग्रसरता लिएको बताए । अहिलेसम्म काम अपेक्षित रूपमा नभए पनि सरकारबाट पूर्वाधार निर्माण विकास समिति गठन आदेश भएकाले अब काम द्रूत गतिमा हुने उनको भनाइ छ ।

उनले कलेज तथा अस्पताल निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगसँग छलफल गरेर आवश्यक बजेट विनियोजन हुने बताए । गेटा कलेजको गुरुयोजना र कार्ययोजना अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पुगेको छ । पूर्वाधार विकास समिति गठन आदेशले भौतिक निर्माण, अस्पताल सञ्चालन तथा दरबन्दी सिर्जनाका लागि बाटो खुलेको छ । नयाँ पत्रिकामा खबर छ ।