२६ मंसिर, भैरहवा । लगातारको मधेस आन्दोलनका कारण लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका तीन दर्जन साना ठूला उद्योग सधैँका लागि बन्द हुने स्थितिमा पुगेका छन् ।

करिब रु पाँच हजार करोड लगानी रहेको यस क्षेत्रका सिमेन्ट, बोरा, छड, लिटो र चाउचाउलगायत उद्योग अहिले थला परेको उद्योग व्यापार सङ्गठन रुपन्देहीले जनाएको छ ।

सङ्गठन रुपन्देहीका महासचिव नारायण भण्डारीले उद्योग क्षेत्रमा आन्दोलन र भारतीय नाकाबन्दीका कारण निकै मार पारेको बताए ।

money count

पश्चिमाञ्चल सिमेन्ट एसोसियसनका अध्यक्ष ऋषिकेस अग्रवाल कोरिडोरमा रहेका सिमेन्टलगायत उद्योग बन्दले गर्दा सञ्चालक र कर्मचारीलाई दैनिकी गुर्जानसमेत गाह्रो भएको बताउछन ।

कोरिडोरमा रहेका तीन दर्जन उद्योगमा करिब १० हजारको सङ्ख्यामा कर्मचारी÷मजदुर कार्यरत छन् । मजदुर र मजदुरका परिवारसमेत बिचल्लीमा परेको अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार अर्बौँको लगानीमा सञ्चालनमा रहेका उद्योग एक्कासि बन्द हुँदा बैंकको किस्तासमेत तिर्न सकिएको छैन् । लगानीकर्तासमेत सडकमा आउने स्थिति रहेको छ । कुनै विकल्प नहुँदा उद्योग पुनःसञ्चालन गर्नसमेत कठिन स्थिति पैदा भएको छ ।

आन्दोलनका कारण लुम्बिनी सडक पूर्ण रुपमा बन्द रहेको छ भने उद्योग क्षेत्रमा सुरक्षा कर्मचारीभन्दा अन्य कोही बस्ने अवस्था नरहेकाले कहिले सहजता हुने हो भन्दै सञ्चालकहरु निरास मुद्रामा बस्ने गरेका छन् ।

बन्द र आन्दोलनका कारण कोरिडोरका उद्योगले दैनिक रु १० करोड नोक्सानी व्यहोरिरहेका छन् । देशमा सिमेन्ट र छडको मुख्य उत्पादक क्षेत्र रहेको यस कोरिडोरका उद्योग बन्द हुँदा निर्माण आयोजनाका कामसमेत ठप्प छन् । रासस