९ चैत, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।
आज दिउँसोसम्मको तथ्यांक अनुसार मृतकको संख्या १३ हजार ६९ पुगेको हो ।

सबैभन्दा धेरै इटलीमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । अहिलेसम्म ५३ हजार ५ सय ७८ संक्रमित भएकामा ४ हजार ८ सय २५ जनाको मृत्यु भएको हो । ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् भने ४२ हजार ६ सय ८१ जना अस्पतालमा उपचाररत छन् ।

इटलीपछि सबैभन्दा धेरै मानिसको मृत्यु भएको चीनमा अहिलेसम्म ३२ सय ६१ जनाको ज्यान गएको छ । चीनमा मृत्यु हुनेको संख्या अत्यन्तै न्यून छ । अमेरिकामा अहिले तिब्रगतिमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । अहिलेसम्म २६ हजार ९०० संक्रमित भेटिएको अमेरिकामा ३ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

२६ हजार ३ सय ७४ जना उपचाररत रहेकामा ७ सय ८ जनाको अवस्था गम्भीर छ । स्पेनमा १३ सय ८१, इरानमा १५ सय ५६, फ्रान्समा ५ सय ६२, जर्मनीमा ८४ जनाको मृत्यु भइसकेको छ । विश्वभर कूल संक्रमितको संख्या ३ लाख ८ हजार ६ सय ९ पुगेको छ ।