६ बैशाख, काठमाडौं ।

चाबहिल गोपीकृष्ण हल अगाडि मिनी ट्रकले ठक्कर दिदा पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मुत्यु भएको छ ।

क्याम्पसमा अध्ययन गरेर कपन सरस्वतीनगरस्थित निवास फर्कदै गरेकी ओखलढुङ्गाकी २१ वर्षीया बालकुमारी दाहाललाई बाटो काट्न लाग्दा आज बिहान बा१ख ९११२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी दाहाललाई उपचारका लागि ओम अस्पतालमा पु¥याउनेबित्तिकै निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिएलगत्तै फरार भएका चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।

ट्रकलाई महानगरीय प्रहरीवृत्त गौशालामा राखिएको छ । घटनाको विरोधमा पशुपति बहुमुखी क्याम्पस स्ववियुले आज बिहान मित्रपार्क चाबहिल सडक अवरुद्ध गरेको थियो । चालकले मनपरी ढङ्गले सवारी हाँकी दुर्घटना गराएकाले समातेर कारबाहीको प्रक्रियामा नलगेसम्म विरोध जारी राखिने स्ववियु सभापति मनोज वैद्यले बताउनुभयो ।

“चालकलाई भगाउन प्रहरीले सहयोग गरेको सूचना पाएका छौँ, चालकलाई नसमातेसम्म विरोध जारी राख्छौँ”, उहाँले भन्नुभयो, “अहिले सडक खुलाए पनि चालक नसमाते कडा आन्दोलन गर्ने स्ववियुले जनाएको छ । रासस