२४ असोज, एजेन्सी ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक जंगलमा लागेको डढेलो वस्तीमा सल्किएपछि कम्तीमा दश जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । तिब्र गतिमा हावा चलिरहेकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ । आगो बस्तीमा पसेपछि भागाभाग हुँदा केही मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

जंगल नजिकका बस्तीहरुबाट झण्डै २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । क्यालिफोर्नियाका गभर्नर जेरी ब्रानले नापा, सोनोमा र यूबा क्षेत्रमा आपतकाल घोषणा गर्नुभएको छ । आगलागीका कारण अहिलेसम्म १५ सय भन्दा बढी घर जलेर नष्ट भइसकेको वन तथा अग्नि सुरक्षा विभागका प्रमुख किम पिमलोटले बताए ।

अहिलेसम्म जंगलमा कसरी आगो लाग्यो भन्नेबारे केही खुलेको छैन । वाइन बनाउनका लागि प्रख्यात मानिने यस क्षेत्रमा अंगुरको ब्यापक खेती हुने गरेको छ । आगलागीमा फसेका अंगुर बगानमा काम गर्ने दर्जनौ कर्मचारीलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले सानफ्रान्सिस्कोसम्म आगो फैलनसक्ने चेतावनी दिएको छ । आगलागीका कारण थुप्रै सडक बन्द हुँदा मानिसहरुलाई बाहिर निक्लन समस्या भएको छ । हावाको गति कम नभएसम्म आगो नियन्त्रणमा लिन नसकिने अधिकारीहरुले बताएका छन् ।

आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् ।

तस्विर: AFP/GETTY