२५ मंसिर, काठमाडौँ।

सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ ।

ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम संविधानमा भएको व्यवस्थाअुनसार नै हुनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेलगायत रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगी आफ्ना मागहरु पेस गरेको गठबन्धनमध्येका एक तराई मधेस राष्ट्रिय अभियानका विदेश विभाग प्रमुख देवेश झाले जानकारी दिए। भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागका विषयमा यही मङ्सिर २९ गते बालुवाटारमा बसेर पुनः छलफल गर्ने बताएका समेत झाले जानकारी दिए।

आफूहरुले बुधबार र बिहीबार संसद् अवरुद्ध गरेको हुनाले सरकारले वार्ताका लागि बोलाएकाले आज आफूहरु मागसहित आएको विदेश विभाग प्रमुख झाको भनाइ थियो । सो गठबन्धनमा राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक, अनिलकुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, जेपी गुप्ता अध्यक्ष रहेको तराई मधेस राष्ट्रिय अभियान र शरद्सिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेसी समाजवादी पार्टी रहेका छन् । रासस