१६ मंसिर, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका काठमाडौँ निर्वाचन क्षेत्र नं १ र ४ का उम्मेदवारले आफूहरु विजयी भएमा देशमा स्थिर सरकार, सुशासन र समृद्धि ल्याउने बताएका छन ।

आशन्न निर्वाचनका सन्दर्भमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको काठमाडौँ मिडिया डेस्कले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले छिमेकी मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धको विकास गर्दै स्वाधिन अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्षेत्र ४ का उम्मेदवार एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका समस्याको समाधानका लागि आफूहरुले जनतासमक्ष मत मागिरहेको बताउँदै निर्वाचनले स्थिर सरकार, सुशासन र समृद्धि दिने जनाए ।

क्षेत्र नं १ का उम्मेदवार माओवादी केन्द्रका युवा नेता अनिल शर्माले विद्यमान राजनीति र नेतालाई गाली गरेर होइन विगतका आन्दोलन र उपलब्धिको स्मरण गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै नयाँ नेपालको खाका कोर्ने सन्दर्भमा आफू सक्षम रहेको दाबी गरे ।

उनले काठमाडौँको प्रदूषण र खाद्यान्नको विषादी हटाउने, सार्वजनिक खुल्ला स्थल खडा गर्ने, वागमती स्वच्छ तथा राजधानीलाई शैक्षिक केन्द्र बनाउने आफ्नो कार्यसूची रहेको बताए ।