१६ साउन, काठमाडौ । नेपाल पर्यटन बोर्डको सहकार्यमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘गाउँ पर्यटन’ नामक पुस्तक प्रकाशन गरेको छ ।

सो पुस्तकमा गाउँ पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा सरकार तथा निजी क्षेत्रबाट गरिनुपर्ने विषयवस्तु, नेपालका पर्यटकीय स्थलबारेका जानकारी, पर्यटनका आर्थिक, सामाजिकलगायतका विषयमा लेखिएका विभिन्न लेख रचनालाई सङ्कलन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले मञ्चद्वारा १७ औँ गाउँ पर्यटन दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा सो पुस्तकको सार्वजनिक गर्दै बाह्य तथा आन्तरिक पर्यटनलाई साथ साथमा प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए ।

उनले भने-“नेपालको पर्यटन विकासमा ग्रामीण क्षेत्रसँग समन्वय गरेमात्र दिगो हुने भएकाले ग्रामीण पर्यटनमा आगामी दिनमा जोड दिन आवश्यक छ ।”

सो अवसरमा मन्त्री श्रेष्ठले मञ्चद्वारा स्थापित यस वर्षको घरबास सम्मानबाट बारपाक घरबासलाई सम्मान गर्नुभएको थियो । सो पुरस्कारको राशि रु ११ हजार रहेको थियो ।

मञ्चका अध्यक्ष शिव लामिछानेले गाउँ पर्यटन प्रवद्र्धन गर्न सरकारले ध्यान दिन आवश्यक भएको बताए । रासस