७ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अराजकता बढेकाले सरकारले समाजको मूल्य मान्यता कायम गर्न खोजेको प्रष्टीकरण दिएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले जहाँ जे बोलेपनि हुने नेपाली समाज जंगली नभएको बताए । ‘सामाजिक सञ्जाल र त्यहाँ प्रयोग भएका भाषाबारे नेपाली शब्द कोष हेर्नुस् । नेपाली समाज जंगली होइन, जहाँ जे बोले पनि हुने’, गीतका कारण गायकहरु पक्राउ परेकोतर्फ संकेत गर्दै उनले प्रतिप्रश्न गरे, ‘गाउनै नपाउने भनेको छ र ? के तपाईँ उनीहरुले गाएका गीत परिवारसँग बसेर सुन्न सक्नुहुन्छ ? त्यस्ता गीत सुन्दा–हेर्दा कतै अनुहार लाजले रातै हुन्छ कि ? कतै मुख थुन्नुपुर्ने वा हातले छोप्नुपर्ने हुन्छ कि?’

समाजको मूल्य पद्धति हुने भन्दै त्यसलाई भत्काउन खोज्नेलाई नियन्त्रण गर्न खोजिएको प्रष्टिकरण उनको थियो । हामीले उठ् भने उठ बस् भने बस भनेको होइन’, उनले भने, ‘कला, गला, साहित्य या आविष्कारमा योगदान दिने हो भने गर्नुस् । नगर्नु भनेकै कुरा नगरी नहुने हो भने त मान्छे मारेर जलाएको पनि ठीकै छ, मनपरी गरेको पनि ठीकै छ, अर्काका छोरी चेली झम्टेको पनि ठीकै छ भन्नुपर्यो ।’ उनले नाङ्गै हिँडेको नेपाली समाजले पचाउन नसक्ने तर्क गरे । ‘नाङ्गै हिँड्न पाउनुपर्छ भन्दै हिँडेपछि त समात्नुपर्यो नि’, उनले भने, ‘तपाईँले गरेको कामले अर्काले आँखा छोप्नुपर्छ भनेपछि त्यसै छोडिदिने हो त ?’

गीतसंगीतमार्फत समामजिक सद्भाव खल्बलाएको, अश्लिलता फैलाएको भन्दै प्रहरीले दुई दिनअघि गायक दुर्गेश थापा र आज गायक समिर घिसिङ (भिटेन)लाई पक्राउ गरेको थियो । थापा छुटेपनि भिटेनलाई भने प्रहरीले हिरासतमा राखेको छ ।