३ वैशाख, कावासोती।

लामो समयसम्म गिट्टी भारत निकासी नहुँदा व्यवसाय धरासायी भएको भन्दै नवलपरासीका क्रसर व्यवसायीले जगेडामा रहेका कुटिएको गिट्टी भारत निकासी गर्न दिन माग गरेका छन् ।stone gitti sand 24563921

शुक्रबार नवलपरासीको दुम्किवासमा सञ्चारकर्मीसँग भेटघाट कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । क्रसर व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष उमेश शेरचनले क्रसर उद्योगमा रहेका गिट्टी, बालुवा नेपालमै खपत भएपनि ढुङ्गा कुट्दा निस्केको गिट्टी र कुटिएको गिट्टी नेपालमा खपत नहुने भएकाले त्यसलाई भारत निकासी गर्न दिन माग गरे।

शेरचनले आफूहरुले नदीजन्य वस्तुको दोहन नगरेको बताउँदै बिक्री नभएर बसेका सामग्री मात्र भारत पठाइने स्पष्ट गरे ।

नवलपरासीको नवलपुर क्षेत्रमा रहेका १३ वटा क्रसर उद्योगमा मात्रै रु दुई अर्ब बराबरको सामान ‘स्टक’ रहेको क्रसर व्यवसायी महासङ्घ नवलपरासीका अध्यक्ष चन्द्रमणि अधिकारीले बताए ।

नवलपरासीको नवलपुर क्षेत्रमा रहेको १३ वटा क्रसर उद्योगमध्ये दुई वटा क्रसर उद्योग भारतमा गिट्टी निकासी गर्न नपाउँदा बैंकको ऋण तिर्न नसकी बन्द भएका छन् । अध्यक्ष अधिकारीले भने– “जे छ त्यो बेच्न पाउनु प¥यो भन्दा पनि सरकार सुन्दैन ।”

सरकारले दुई वर्षअघि नदीजन्य वस्तु भारत निकासी गर्दा नदीजन्य वस्तुको दोहन भएको, कवाडीको भाउमा भारतमा नदीजन्य वस्तुको निकासी भएको, दोहनका कारण वातावरणमा समेत असर गरेको भन्दै भारत निकासीमा प्रतिबन्ध लगाएको थियो । रासस