३० साउन, काठमाडौं ।

नेपालकी चेली निमा छुम्जी शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी छन ।

सोलुखुम्बु गुडेल–४ की शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम गर्नुभएको हो ।

उनले सन् २०१२ मे १९ मा सगरमाथाको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी थिइन । तीन वर्षअघि सगरमाथा आरोहण गरेकी शेर्पालाई लामो प्रयासपछि केही दिनअघि मात्र गिनिजबुक अफ वल्र्ड रेकर्डको उपाधि दिएको हो ।

आरोहणमा विश्व कीर्तिमान कायम गरेका १९ वर्षीय शेर्पाले भनिन–“आफूमा जे इच्छा छ त्यो पूरा नहुन्जेल निरन्तर लागिरहनुपर्छ । मिहेनत, लगनशीलता र धैर्यता चाहिन्छ, त्यसकै उदाहरण हो यो मेरो सफलता ।”

Mt. Everest1

अध्ययनमा सधैँ अब्बल निमाको सानैदेखि सगरमाथा आरोहण गर्ने सपना थियो । त्यसैले उनी मिहेनतका साथ पढाइ र पर्वतारोहणलाई उत्तिकै महत्व दिएर लगनशील भइन ।

अमेरिकाको साउर्दन युटा युनिभर्षिटीमा बायोलोजी पढ्न आइतबार त्यतातर्फ जान लागेकी शेर्पाले अध्ययनसँगै पर्वतारोहणलाई अघि बढाउने र भविष्यमा वायोजोजिस्ट भएर देशको सेवा गर्ने बताइन ।

जोरपाटीको हिमाल इन्टरनेशनल एकेडमीबाट विज्ञान विषयमा दश जोड दुई अध्ययन गरेकी कान्छी आरोही शेर्पा कलेजकै उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी हुन् । चावहिलको लुम्बिनी एकेडमीबाट प्रवेशिका उत्तीर्ण शेर्पा कक्षा एक देखि १० सम्म सधैँ प्रथम भइन ।

जीवनमा सबैभन्दा बढी खुसीको क्षण बुबासँग तीन वर्षअघि सगरमाथा चढेको बताउने शेर्पाले सोहीबखत सगरमाथा आधार शिविरमा लेक लागेर ज्यान गुमाएका लासहरुको थुप्रो देखेको घटनालाई कहिल्यै नबिर्सने क्षण भएको बताइन ।

आरोही शेर्पाकी आमा लाक्पा डिकी शेर्पाले छोरीले विश्वकै कान्छी आरोहीको रुपमा राखेको रेकर्डले आम नेपालीलाई गौरवान्वित बनाएको बताइन ।

छोरीको मेहनत र लगनशीलताले पाएको यो सफलताको प्रेरणा अन्य आमाबाबुलाई जानसके नेपालको पहिचानलाई अझ उचो बनाउने उनको अपेक्षा छ ।

बुबा डेन्डी शेर्पाले छोरीको चाहना सानैदेखि डाक्टर बन्ने रहेतापनि पर्वतारोहणलाई महत्व दिएकै कारण आजको सफलता हात परेको भन्दै यसले परिवार मात्र नभई सिङ्गो देशको गौरब बढाएको बताए ।

छोरीलाई नेपालमै डाक्टर पढाउने चाहना हुँदाहुँदै पनि सरकारी प्रक्रिया झन्झटिलो भएकाले ताकेता गर्न नसकेपछि विदेश अध्ययनका लागि पठाउन बाध्य भएको उनले दुःखेसो पोखे ।

यसैबीच नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आज विश्व कीर्तिमानी आरोही शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान ग¥यो ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले आरोही शेर्पालाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा निमित्त सचिव सापकोटाले नेपाली पर्यटनको पहिचान शेर्पा समुदायकी चेलीले विश्व कीर्तिमान कायम गरी नेपालको गौरब बढाएमा आभार प्रकट गर्दै पर्वतारोहण र पदयात्रा क्षेत्रलाई सुरक्षित र गुणस्तरीय बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार अधिकारीले कान्छी आरोही शेर्पाले विश्वभर नेपालको गौरभ बढाएकोमा धन्यवाद ज्ञापन गरे ।

एनएमएका अध्यक्ष आङ्छिरिङ शेर्पाले कलिलो उमेरमा सगरमाथा चढेर नेपाली चेलीले विश्वमा गौरव बढाएको भन्दै यो नेपालको लागि मात्र नभई विश्वकै गौरवको विषय भएको उल्लेख गरे ।

वल्र्ड रेकर्डको प्रमाणपत्र ग्रहण गर्दै आरोही शेर्पाले यो सफलता शेर्पा जातिको मात्र नभई आम नेपालीका लागि गर्वको विषय हो भन्दै नेपाल पर्यटकका लागि सुरक्षित गन्तब्य हो भनेर आफूले विश्वमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइन । रासस