१३ फागुन, काठमाडौं ।
स्वास्थ्य मन्त्री गगन थापाले सरकारले तोकेको मापदण्ड अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गनुपर्ने बताएका छन् । उनले सरकारी र निजी क्षेत्रले नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नुपर्ने बताएका हुन् ।

शुक्रवार राजधानीको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको एरा हेल्थ सेन्टरको उद्घाटन गर्दै मन्त्री थापाले विदेशी पर्यटक लक्षित हस्पिटलमा महंगो लगानी मात्र नभई सेवा र सुविधा गुणस्तरीय र भरपर्दो दिनुपर्ने बताए । मन्त्री थापाले भने, ‘नेपाल सरकारले तोकेको मापदण्ड पुर्याएर सञ्चालनमा आएको यस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको छ । यस सेन्टरबाट स्वदेशी तथा विदेशी पर्यटकहरुले आवश्यक अनुसार मेडिकल इमर्जेन्सीजको लाभ लिनसक्छन् ।

सेन्टरका अध्यक्ष एवं मेडिकल डाइरेक्टर डाक्टर गिर्वाण राज तिमिल्सिनाले भने,‘हाम्रो अस्पताल नेपाल भरिकै एउटा उत्कृष्ट ट्राभलर सेन्टर हो । कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी भएको बेला उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने हाम्रो मिसन हो । भविष्यमा यसलाई एसियाकै उत्कृष्ठ ट्राभलर सेन्टर बनाउने उद्देश्यका साथ अघि बढेका छौं ।’

मुलुकमा विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल नगन्य भएको अवस्थामा यस सेन्टरले पर्यटकहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालका निर्देशक भानु ढकालले बताए ।