२८ भदौ, बाँके । नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए काङ्ग्रेसले सशक्त प्रतिकार गर्ने बताएका छन् ।

‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिन अघि नेकपा निकट कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाउने गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केही दिनअघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाए ।

‘यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन काङ्ग्रेस तयार छ’, उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।’

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिए ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।