२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमालेलाई विश्वास गरेर पहिलो पार्टी बनाएकाले जनताको भावनाअनुसार काम गर्ने बताएका छन् ।

आफ्नो गृहनगर झापाको दमकमा भएको विजयोत्सवलाई संबोधन गर्दै ओलीले एमालेले अब देश विकासको जिम्मा लिने बताए । उनले एमालेबाट विजयी भएका जनप्रतिनिधिले भोट माग्ने बेला गरेका प्रतिबद्धता अनुसारकै काम गर्ने बताए ।

उनले भने,‘ हाम्रो पार्टीबाट विजयी भएका प्रतिनिधिहरुले जनताको पक्षमा काम गर्छन्, भोट माग्दा गरेका प्रतिबद्धताहरु विर्सँदैनन्, यसको जिम्मा एमालेले लिन्छ, म लिन्छु’ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो गृहनगर दमकलको विकासले अब फड्को मार्ने दाबी गरे । उनले भने, ‘दमकमा एमालेले जितेको छ, अब तपाईहरु ढुक्क हुनुहोस् दमकको विकासले गति लिन्छ’ ।