१ फागुन, काठमाडौं।

लामो रस्साकस्सी र चर्को बार्गेनिङपछि अन्तत: सरकारले नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्त गर्यो।

फाइल तस्बिर

वरियताक्रममा तेस्रो स्थानमा रहेका जयबहादुर चन्दलाई आइतबार बसेको मन्त्रिपरिषदको बैठकले महानिरिक्षकमा अनुमोदन गरेको हो।

तर चन्दलाई महानिरिक्षक बनाउन निकै चर्को पापड बेलिएको बुझिएको छ । चन्द काँग्रेस सभापति शेरबहादुर देउवाको रोजाईमा परेका थिए। गृहमन्त्री बिमलेन्द्र निधि भने वरियताक्रम अनुसार नै नवराज सिलवाललाई महानिरिक्षक बनाउन चाहन्थे। प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सिलवालकै पक्षमा रहेका थिए।

शेरबहादुर देउवाले बिमलेन्द्र निधिमाथि चर्को दबाब बनाउँदै चन्दको नाममा सहमत गराएका थिए। पहिले त निधिले देउवाको प्रतिकार गर्दै सिलवाललाई नै नियुक्त गर्नु पर्ने अडान राखेको स्रोत बताउँछ। तर देउवाले भनेको नमाने गृहमन्त्री नै छोड्न दबाब दिएपछि निधि चन्दलाई नियुक्त गर्न राजि भएको कांग्रेस वृतमा चर्चा छ।

यसैलाई पुष्टी हुने गरि मन्त्रिपरिषदको बैठकपछि निधिको हाउभाउले पनि बताउँथ्यो। मन्त्रिपरिषदको बैठकपछि बाहिर निस्किएका निधिको अनुहार मलिन र न्याउरो थियो। महानिरिक्षक नियुक्तीमा निधिले सहमति जनाएपनि खुसि भने नभएको स्पष्ट बुझिन्छ।

बेखुसीमा महानिरिक्षक नियुक्तीमा सहमति जनाएपछि बिमलेन्द्र निधि र देउवाबीच पुरानै सम्वन्ध कायम नरहेको कांग्रेसमा विश्लेषण गरिएको छ। यसको असर निकै परसम्म पुग्न सक्ने र निधीले तत्कालै नभए पनि केही समयपछि राजिनामा पनि दिन सक्ने आंकलन गरिएको छ।