६ फागुन, काठमाडौं।
आमरण अनसन स्थलमा पुगी जनकपुरको वृहत्तर विकासकालागि सरकारले प्रभावकारी कार्य गर्ने गृहमन्त्री विमलेन्द्र निधिले आश्वासन दिएपछि विगत १६ दिन देखि जारी आमरण अनसन आज तोडिएको छ ।

फाइल तस्बिर

अनसन तोडिनु भन्दा पहिला आमरण अनसनमा १६ दिन देखि वसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासंग गृहमन्त्री निधिको आधा घण्टा वार्ता गरेका थिए ।

गृहमन्त्री निधिले सरकारले पनि जनकपुरको वृहतर विकास चाहि रहेकाले सात दिन भित्र उच्च स्तरीय समिति गठन गरी मागको सम्वन्धमा प्रक्रिया अगाडी बढाउने जानकारी दिएका छन् ।

आमरण अनसनको यतिका दिन हुँदा पनि सरकारले गम्भीरता नदेखाएको भन्दै सरकार विरुद्ध स्थानीयबासी निकै आक्रोसित भएका थिए । प्रत्येक दिन जनकपुरमा विरोध जुलुस प्रदर्शन गर्दै आएका थिए ।

७ सूत्रीय माग सहित वृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा संगै अनसन बसेका नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नम्बर २ को सह-संयोजक कलामुद्दिन राइन र दलित नेता मिथिलेश्वर दासले पनि जुस खाएर आमरण अनशन तोडेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, शिक्षण अस्पतालको संगै राजर्षि जनक बिश्व विद्यालयको स्थापनाको माग गरिएको छ । त्यस्तै जनकपुरमा छ लेनको बाहिरी चक्रपथ निर्माण,सरकारी गुठी र मठ मन्दिरको जग्गा र जानकी मन्दिर संरक्षणको लागी ट्रष्टको स्थापना सहितको रहेको छ । यसैगरी धर्नाको कार्यक्रम पनि स्थगित गरिएको छ । आमरण अनसन स्थलमा आज विहान देखि पाँच जनाले धर्नामा बसेका थिए ।