१६ वैशाख, काठमाडौं ।

आपूर्ति मन्त्रालयले सामान्य अवस्थामा आयात हुने ग्यासको अनुपातमा हाल बढी परिमाणमा ग्यास आयात हुँदा पनि सहज रुपमा ग्यास नपाएको गुनासो आएपछि अनुगमनलाई तीव्र पारेको छ ।

मन्त्रालयका उपसचिव कमलराज भण्डारी र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठको संयोजकत्वमा दुई वटा घुम्ती अनुगमन टोली गठन गरी यही वैशाख १० गतेदेखि काठमाडौँ उपत्यकामा भित्र्ने ग्यासको निकटतम अनुगमन कार्य सुरु गरिएको बताइएको छ ।

ग्यास उद्योग, वितरक, डिलरसम्म पुगेर आयातित र वितरित ग्यासको तथ्याङ्क सङ्कलन गर्नुका साथै उपभोक्ताको भान्सासम्म ग्यासको आपूर्ति पारदर्शीताका साथ भए/नभएको बारे अनुगमन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ग्यासको बिक्री वितरणमा कुनै गुनासो भए नजिकको प्रहरी एकाइमा खबर गर्न अनुरोध गरेको छ ।

गत फागुन महिनामा २१ हजार मेट्रिक टन र चैत महिनामा २७ हजार मेट्रिक टन ग्यास उपलब्ध भएको बताउँदै मन्त्रालयले भारतीय आयल निगम माग गरेबमोजिमको परिमाणमा ग्यास एवम् पेट्रोल, डिजेल दिन सहमत भएको जनाएको छ । यसै महिनामा पनि सामान्य मागको अनुपातमा झन्डै १५० प्रतिशतसम्म बढी परिमाणमा ग्यास उपलब्ध गराउन अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्दराम रेग्मीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै मन्त्रलायले आवश्यकताभन्दा बढी ग्यासको सिलिण्डर सञ्चित नगर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ ।