ग्रिस अन्तराष्ट्रिय मुद्रा कोषको ( आईयमयफ) १.५ अरव युरो (१.७ अरव डलर) ऋण किस्ता निर्धारित समयमा चुक्ता गर्न नसक्ने पहिलो विकसित देश बन्यो । आईन्दा ऋण लिँदा उनीहरुको सर्त स्वीकार्ने कि अस्वीकार गर्ने भन्ने जुलाई ५ को जनमत संग्रहमा सर्तसहितको ऋण नलिँने भनेर झण्डै ६२ प्रतिसत ग्रिसेली जनताले अभिमत दिए ।

थेचराईजेसनको ट्रुईकल डाउन थ्याौरी (मारगे्रट थ्याचर र रोनाल्ड रेगन सिद्धान्त) अनुसार कर्पोरेट जगतले वैंक मार्फत विश्वब्यबस्था संचालन गर्न थालेपछिको संसारकै यो पहिलो हाकाहाकी जनप्रतिकृया रह्यो ।

[quote_box_left]

लेखक

Narendra Jung Peter

नरेन्द्रजंग पिटर  [/quote_box_left]

सम्पूर्ण युरोपियली कर्पोरेट मिडियाले संचारआतंक खडा गर्दै युरोपियन युनियनबाट निकालिएपछिको भयावह चित्रण गरेका थिए । तर ग्रिसेली जनमतले अब्यबहारिक सर्त र अमानवीय माग राखेको त्रोयका –(युरोपीय केन्द्रीय वैंक–ईसीवी, युरोपीयय आयोग–ईसी र आईयमयफको) सर्त भने टुकराईदियो । युनानी वित्तमन्त्री वरुफाकिसले सबै वार्तामा प्रमुख भूमिका निभाएका थिए । त्रोयकाको सम्राज्यवादी नियति बुझेका उनको भनाई थियो–यदी मैले उनीहरुसंग अन्यायपूर्ण सहमतिमा सही गर्नुपर्छ भने आफ्नो हातै काटी दिन्छु । उनले त्रोयकाको ब्यबहारलाई चरमपन्थीले गर्नेजस्तो ब्यबहार भनेका छन् ।

सिप्रासले जन अभिमत जित्यो, प्रधानमन्त्री स्तीप्रासलाई आँउदा दिनमा त्रोयकासंग सम्झौता गर्न सहज होस् भनेर अर्थमन्त्री बरुफाकिसले जितेर पनि राजीनामा गरे । त्यो नैतिक अपिलको उच्च नजिर थियो । आफ्ना अजेण्डा जनमतले स्वीकारेपछि भने उनले राजनीमामात्रै दिएनन् मोटरसाईकलमा श्रीमतीसंगै एथेन्सका सडकमा कावा खाँदै खुशियाली मनाए ।

कर्पोरेट बादशाहहरु ग्रिसमा शासन गर्न चाहन्थे, महान युनानलाई तर्साउन चाहन्थे, अझ जर्मन चान्सलर म्याडम एन्जेला मार्खेजको हुकुमलाई पश्चिमा ज्ञान, बुद्धि र संस्कृतिको निर्यातक देशले नो नो हुकुम फर अस भनिदियो । ऋण गरेर नी मोज गर् भन्ने पहिलाको सरकारको नवनिर्वाचित सिराज (वामपन्थी) सरकारले सर्तसहतिको ऋण नलिने भनेपछि संसारकै थैलीशाहलाई समस्या परेको हो । तब साहुजीहरु रन्थनिए।

स्तीप्रास नेतृत्वको ग्रिसले अष्टेरिटी प्याकेज (गरिव मारेर धनी पोस्ने नीति) सर्त सहितको ऋण नलिने भन्ने पक्षमा मतदान गरेपछि त्यसले विश्व ब्यबस्थामा नयाँ हलचल मात्र ल्याएको छैन् यसलाई प्रख्यात फ्रान्सेली दार्शनिक एलेन बादेउले त युरोपियली ब्यबस्थामा ‘वैचारिक झटका’ भन्न पुगे । कसरी कर्पोरेट जगतले राज्य संचालन गरेका हुन्छन् भन्ने दक्षिण अमेरिकाको अध्ययन आधारित ‘इकोनोकिकल हिट मेन’ नामक बहुचर्चित पुस्तकका लेखक जोहन पर्किन्सले त ग्रिसेली जनतालाई ‘ऋण नतिर’ भनेर आव्हान पनि गरे ।

अपमानजनक शर्तलाई ब्याकमेल भन्दै अस्विकार गर्ने ग्रीसका प्रधानमन्त्री कमरेड एलेक्सिस त्सिप्रास र महान युनानी जनतालाई लाल सलाम पठाउनेमा क्यूवाली क्रान्तिका नेता फिडेल क्यास्त्रो समेत रहे । घटना त ग्रिसमा भईरहेको थियो तर त्यसको दुरगामी सन्देश विश्वभरी नै फैलियो, साहुजीहरु….. तपाईको हुकुममा संसारकै सवै सरकार चल्दैन भनेर । एकाएक युनानी राष्ट्रवाद जागृत भएको थियो । पश्चिमलाई ज्ञान, विज्ञान, दर्शनले सुसंस्कृत गराउने हिराक्ल्टस, सुकरात, अरस्तु र पल्ेटोको देशले २१सौ सदीका साहुहरुको कर्पोरेटी चरित्र, त्यसका रक्षक सिपाहीहरु बनेका बन्दुके शासकहरु प्रति शान्तिपूर्ण जनमतको सन्देश दियो ।

ग्रिसेली जनताको समर्थनमा युरोपका अनेकौँ सहरमा ऐक्यवद्धता प्रर्दशन पनि भए ।
धनीहरु पोस्ने गरिबमारा पुराना सरकारले गरेको पापले छटपटिएका युनानी जनताले पाँच महिना पहिला मात्र दक्षिणपन्थी पार्टीविरुद्ध वामपन्थी सिप्रास पार्टीलाई जिताए ।

चुनावी वाचाबन्धन अनुसार वामपन्थी प्रधानमन्त्री स्तीप्रास र अर्थमन्त्री वरुफाकिसको जोडीले सामाजिक सरोकारका विषयमा प्रतिवद्धता जनाउदै शिक्षा, स्वास्थ, बालापन र पेन्सन जस्ता मुद्धामा जनसरोकारको पक्षमा रह्यो । विपद र उत्सव जहिले पनि भ्रष्टाचारी शासनतन्त्रको सन्जिवनी बन्छ, भने ऋण गरेर घ्यु पिउने समाजमा एउटा तप्का जहाँ पनि हुन्छ ।

त्यस्तै सन २००४ को ग्रिस ओलम्पिक पनि एकातर्फ वैभव प्रदर्शनमा अनापसनाप खर्च र भ्रष्टाचार थियो भने सन २००८ को विश्व आर्थिकमन्दीको चाप पनि उसले खेपेकै थियो । मुख्य कुरा त शाहुखलकका मुखिया र पश्चिमा शक्ति त्रोएका, विश्व वैंक आईयमयफ लगाएर संसारलाई करपोरेट हुकुम चलाउन चाहन्थे । सुविधा खोसिदिएपछि भोको पेटलाई जे जस्तो सर्त पनि मनाउन सकिन्छ भन्ने साहुहरुको मान्यता हुन्छ तर ऋण खाएको र चिउरा खाएको परिणाम समय घर्किएपछि मात्र देखा पर्छ ।

मान्छे सुत्दा पनि ब्याज दौडिरहेको हुन्छ भने चिउरा पनि पेटमा पुगेपछि ढाडिदै जान्छ । कयौपटक भ्रष्ट नेताहरुले गरेका अपराधको पीडा पनि राष्ट्र र जनताले ब्यहोर्नु पर्छ, जनमतबाट उनीहरु दण्डित हुँदा पनि गरिसकेका अपराधको हिस्सेदारी भने निरपराध देश र जनताले ब्यहोर्नु पर्छ । त्यसैले सकृय जनमतले मात्र शासकवर्गलाई निगरानी र नियन्त्रण गर्न सक्छ । त्यसकालागी नागरिक सरोकार भएपछि मात्र नियन्त्रण हुँन सक्छन् नत्र भ्रष्ट शासकहरुलाई निस्कृय जनमतले जन्माईरहेको पनि हुँन सक्छ ।

किन जागे त साहुहरु ?

शीतयुद्धको ह्याँग ओभर अझै पश्चिमा शक्तिलाई छँदैछ । साहुको हुकुम सिरोपर नगरी नेटो शैन्य संगठनको एउटा सदस्य भएर पनि ग्रिसेली प्रधानमन्त्री स्तीप्रास निर्वाचित ५ महिनामै अवधीमा रुसको दुईपटक भ्रमण मात्रै गरेनन फासीवाद विरुद्धको विजय जुलुसको ८० औ भिक्ट्री परेडमा सहभागी पनि भए ।

एकातर्फ युरोपमा अन्धराष्ट्रवादी फासीवाद पनपी रहेकोछ भने अर्कातर्फ वामजनमत बढी पनि रहेको छ । एण्टीकट मुभमेण्ट र प्रवाशी समस्या पनि बढ्दो छ । मूलकुरा युरोपमा उद्योगलाई चाहिने कच्चा पर्दाथको कमी भईसक्यो । ग्रिसकै जस्तो अवस्थावाट स्पेन, पोर्चुगल र इटलीसमेत गुज्रिरहेका छन् । चीनको सबभन्दा ठूलो ब्यापारी साझेदार युरोपेली युनियन हो भने चीन ग्रिसको पिउरेस बन्दरगाहालाई डिपो बनाउन खुव चासो दिईरहेको पनि छ ।

अहिले विश्ववैक र अन्तराष्ट्रिय मुद्राकोषको विकल्पमा संघाई समिट, बृक्स राष्ट्रहरुको अभियान र चीनको अगुवाईको इन्फास्ट्रक्चर वैकले पनि उनीहरुलाई मनोत्रास छाएको छ नै । बुढी मरी भन्ने चिन्ता हैन् काल पल्किन्छ कि भनेर पिर परेझै एउटा आसामीले विकल्प भएपछि साहुलाई कर्के आँखाले हेर्न थाल्यो भने अरु आसामीले पनि त्यही सिको नगर्लान र ! भनेर अहिले दुनियाका साहुहरु ग्रिस घटनाले तर्सिएका छन् ।

अमेरिकी दवदवाको प्रतिकार गर्न फ्रान्सका राष्ट्रपति देगाल र जर्मनी चान्सलर हेल्मोट कोलको परिकल्पना गरिएको युरोपियली युनियनकै भविष्य पनि ग्रिसको घटनाक्रमःले अहिले खतरामा परेको सन्देश दिईरहेको छ ।

युनानले दिएको नयाँ सन्देश

विश्व वैंक, आईयमयफ लगायत क्षेत्रिय वैँकं एशीयाली विकास वैक जस्ता वैंकमार्फत सर्तसहितको ऋण भनेको त्यो देशको शासनसत्ता कर्पोरेट जगतले लिएको भन्ने हुन्थ्यो । त्यहाँ प्रत्यक्ष शासक–देशको झण्डा त फहराएको हुँदैन् विदेशी नागरिक मन्त्री र सचिव पनि बन्दैनन् तर उनीहरु सल्लाहाकारको रुपमा ती ‘अभागी’ देशका वास्तविक शासक हुन्छन् ।

ती देशका नियम, कानुन, अड्डा, अदालत, शाशन, प्रशासनले उनीहरुकै हुँकुम तामेल गर्नु पर्छ भने नेता र प्रशासकहरु निमित्त पात्र मात्र बन्छन् । नेपाल जस्ता देशमा आउने ऋण पनि यसै प्रकारका हुँन भने ब्याज असुल्न पनि सर्त सहितको ऋण दिईएको हुन्छ । नेपालले गरेको अहातमा ऋण माफीको अपिल अस्विकार्नु पछाडिको कर्पोरेट उदेश्य नियाल्दा अथवा भूकम्पमा राहत स्वरुप दाताहरुले दिएको रकमको अनुदान बाहेकको ……..राहत पनि यसै प्रकारको हो ।

दाताका अस्वाभाविक सर्तहरुले कयौँदेशका परियोजनाहरु नै असफल हुने गरेको छ । दवाव दिएर सर्त राख्ने अनि असफलहुँदा जिम्मा नलिने कुरा त्यो कर्पोरेटी वैश्विक अपराध हो, जस्को मूल्य भुक्तान अहिले गरिव देशहरुले गरिरहनु परेको छ । परियोजनामा सर्त थोपर्ने तर परिणामको भागी नहुँने भनेको पीडित नै अपराधी सावित गर्ने शक्तिको खेल हो ।

ग्रिसेली जनमतले वैकल्पिक संसार हुन्छ भन्ने कुरा दुनियालाई नै एउटा महत्वपूर्ण सन्देश दियो । भ्रष्ट शासकहरुमा स्वभिमान हुँदैन् जस्तो सर्त पनि शक्तिसामु स्वीकार्न सक्छन् तर जनमत भने स्वाभिमानी हुन्छ र जुनसुकैवेला आफ्नो भूमिकामा उभिन सक्छ भन्ने दोस्रो सन्देश हो । तेस्रो भनेको जनतालाई अपिल गर्न सक्ने राजनीतिक नेतृत्वले नैतिकपुजी बचाएमा उनीहरुका अपिल जनमतले स्वीकार्छ भन्ने । चौथो सन्देश हो –बामपन्थ विरुद्ध संसारका पुजीपति एक हौँ भन्ने नारालाई टिँटीँ फिस्स बनाइदियो ग्रिसेली जनमतले ।