एजेन्सी । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा बन्दुकधारीहरुले एक चर्चमा आक्रमण गरेका छन् । प्रार्थना चलिरहेको समयमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

आक्रमणमा चर्चका पादरीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । २० देखि ३० जनासम्मको समूहमा आएका आक्रमणकारीहरुले चर्चमा अन्धाधुन्ध गोली चलाएपछि आगजनीसमेत गरेका थिए । डाब्लो शहरका मेयर आउसमेन झोंगोले बन्दुकधारीहरुले स्वास्थ्य केन्द्रमा पनि आक्रमण गरेको बताएका छन् । बुर्किना फासोमा सन् २०१६ यता इस्लामिक चरमपन्थीहरुले यसप्रकारका आक्रमण गरिरहेका छन् ।

विगत पाँच हप्ता यता चर्चमा भएको यो तेस्रो आक्रमण हो । डाब्लो क्षेत्रमा सक्रिय अल कायदा, इस्लामिक स्टेट तथा स्थानीय चरमपन्थी संगठनहरुले इसाई धर्मसँग जोडिएको व्यक्ति तथा चर्चहरुलाई निशाना बनाउँदै आएका छन् ।