७ भदौ, जकनपुरधाम । चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ । यस्तै उनकी आमा र भाइ बिरामी परेका छन् । धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी उनको शनिबार मृत्यु भएको आफ्न्तले जनाएका छन् ।

काजलसँगै चाउचाउ खाएर सुतेकी आमा पवित्रीदेवी साह र ४ वर्षीय भाइ राकेश साह सिकिस्त बिरामी परेका छन् । दुवै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । उनका अनुसार मृतक बालिका र सिकिस्त आमा–छोराले शुक्रबार साँझ घर नजिकैको पसलबाट ‘ज्याकपोट’ नामको चाउचाउ किनेर खाएका थिए ।

घटना विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । उक्त पसलमा बेच्न राखिएको सोही कम्पनीको चाउचाउ परीक्षण लागि जनकपुर पठाएको उनको भनाइ छ । मृतक बालिकाको शवलाई स्थानीयले गाड्ने प्रयास गरेका थिए । तर, प्रहरीले शवलाई पोष्टमार्टका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि पनि घटनाको रहस्य बाहिर आउने प्रहरीको विश्वास छ ।