६ चैत, एजेन्सी । चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री टिलर्सनले वेइजिङको ग्रेड हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन अमेरिका सम्वन्ध सुधारका बारेमा कुराकानी गरेका छन् ।

सो अवसरमा राष्ट्रपति जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग आफू टेलिफोन र ‘एसएमएस’मार्फत् आफू सम्पर्कमा रहिरहेको बताए । राष्ट्रपति ट्रम्प र आफूबीचमा असल सम्वन्ध र सहकार्यका अगाडी बढ्ने सहमति भएको पनि जिनपिङले जानकारी दिए ।

उनले दुईपक्षीय हित र सहकार्य, क्षेत्रीय र विश्वव्यापी विषयमा साझा धारणा बनाउन चाहेको पनि बताएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति जिनपिङले आपसी समझदारीका आधारमा दुई पक्षीय सम्वन्धलाई पुर्नविचार गर्नु पर्नेमा समेत जोड दिएका थिए । उनले राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताए ।

राष्ट्रपति ट्रम्पको भ्रमणको तयारीकै लागि विदेशमन्त्री टिलर्सन बेईजिङ पुगेका हुन् ।