२५ बैशाख, काठमाडौं ।

सरकारले आफूहरुसँगको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै संघीय गठबन्धनले फेरि आन्दोलन सुरु गर्ने बताएको छ । आन्दोलनको रणनीति तय गर्न गठबन्धनको बैठक आज बस्दैछ ।

दिउँसो बस्ने गठबन्धनको बैठकले आन्दोलन गर्ने विषयमा निर्णय गर्ने गठबन्धनका नेता केशव झाले जानकारी दिए । स्थानीय तहको पहिलो निर्वाचन अघि नै संविधान संसोधन गरी माग सम्बोधन हुने आशमा गठबन्धन थियो । संसद बैठक नै चुनावपछि मात्रै बस्नेगरी स्थगित भएपछि गठबन्धन आक्रोशित भएको हो ।

संसोधनका पक्षमा दुई तिहाई पुग्न नसक्ने देखेपछि सरकारले संसोधन विधयेक संसदमा अघि बढाएको छैन । सरकारसँगको भद्र सहमति पछि गठबन्धनले यसअघि घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

‘सरकारले संविधान संसोधनलाई प्राथमिकता दिएन, त्यसैलै आन्दोलन ब्युँताउनुपर्ने दबाब गठबन्धनमा छ, नेता झाले भने, आजै आन्दोलन घोषणा हुन सक्छ, नभए सरकारलाई एक दुई दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा हुन्छ ।’