१८ साउन, काठमाडौं ।

असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ । आज बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको कार्यालय बैठकले शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष क. प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा बादललाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाललाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको हो ।

बैठकले सात वटै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजन समेत गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।