४ जेठ, काठमाडौँ।
पाठ्यक्रम विकास केन्द्रलाई चेतावनी दिँदै पत्र पठाउने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पदाधिकारीलाई कारबाही हुनुपर्ने भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारीले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा ‘आफ्नो पुस्तकलाई किन स्वीकृति नदिएको भन्दै आफूलाई नियमन गर्ने उपल्लो सरकारी निकाय पाठ्यक्रम विकास केन्द्र्रलाई धम्की दिने प्याब्सनका पदाधिकारीलाई कारबाही’को माग गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा बिक्री गरिसकेको पुस्तकको मूल्य फिर्ता गर्नुपर्ने, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका नमान्ने विद्यालय सञ्चालकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

क्रान्तिकारी प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत नै नभएको ‘पी पब्लिकेशन’ का नाममा प्रकाशित कक्षा १ देखि १० सम्म वितरण गरिएको ‘प्याब्सन साइन्स’ नामक पुस्तकसमेत मन्त्री पोखरेललाई बुझाएको थियो ।

मन्त्री पोखरेलले उक्त पुस्तकका विषयमा तीन दिनभित्र छानबिन गरी कारबाही गर्ने बताए । नियम र कानुनभन्दा बाहिर जाने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे । रासस