२४ असार, काठमाडौँ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले कूटनीतिक प्रयासबाट दुवै छिमेकीसँगको सम्बन्ध अत्यन्तै सुमधुर र सुदृढ रहेको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

विनियोजन विधेयक २०७३ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने– छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।

कूटनीतिक माध्यमबाट नेपालले दक्षिण एसिया र विश्व समुदायमै सम्बन्ध सुदृढ र विस्तार गर्न सफल भएको बताउँदै परराष्ट्रमन्त्री थापाले छिमेकीसँगको सम्बन्धले पूर्ववतरुपमा मात्रै होइन, नयाँ आयाम र नयाँ उचाइ हासिल गरेको छ भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका साथै आफ्नो पाँच पटकको भ्रमणले भारतसँगको तिक्तता र असमझदारी हटेर नेपालको विकासमा भारतको ठूलो सहयोगको प्रतिबद्धता आइसकेको उनले जानकारी दिए ।

नेपालको स्वाभिमान र राष्ट्रिय स्वार्थलाई अलिकति पनि कमजोर नगरिकन गरिएको प्रयासले अन्तर्राष्ट्रिय समुदायमा नेपालीको शिर उठाएको छ– परराष्ट्रमन्त्री थापाले भने।

छिमेकी मुलुक चीनसँगको सम्बन्ध शान्त कूटनीतिक माध्यमबाट नयाँ आयाम र नयाँ परिवेशमा प्रवेश गरेको बताउँदै उनले चीनबाट नेपालको विकासमा भएको योगदान सबै नेपाली समक्ष स्पष्ट नै रहेको चर्चा गरे ।

अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालको प्रतिष्ठा अभिवृद्धि भएको बताउँदै उपप्रधानमन्त्री थापाले भने– यसले संविधान कार्यान्वयन, शान्ति र दिगो विकासका लागि महत्वपूर्ण आधार तयार भएको छ ।

विश्वको जुनसुकै कुनामा रहेका नेपालीको अभिलेख तयारी राख्ने प्रयास भइरहेको जनाउँदै उनले बिरामीलगायत अप्ठेरोमा परेका नेपालीको उद्धार गर्ने सन्दर्भमा सरकारकातर्फबाट हरसम्भव प्रयास हुनेछ भने ।

स्थानीयको जवाफ

स्थानीय विकास र सङ्घीय मामिलामन्त्री समेत रहेका थापाले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन रहेको अवस्थामा सरकारले स्थानीय तहको निर्वाचन यथाशीघ्र होस् भन्ने चाहेको बताए ।

आगामी दुई वर्षभित्रमा सम्पूर्ण गाविसमा मोटर बाटो पुर्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताउँदै उनले तुइन विस्थापित गर्ने क्रममा मुलुकका १५६ स्थानमा झोलुङ्गे पुल निर्माणको कार्य थालनी भइसकेको तथा १७१ स्थानमा सर्वेक्षण भइरहेको जानकारी दिए।

आगामी भदौ मसान्तभित्रमा मुलुकमा विभिन्न सहरमा १५ हजार थान सौर्य बत्ती जडान गरिसक्ने गरी कार्यक्रम अघि बढाइएको बताउँदै उनले भूकम्पपीडितको आवास निर्माण गर्ने सन्दर्भमा हालसम्म दुई लाख ५८० जनासँग सहयोग प्राप्त गर्ने सम्झौता भएको तथा २४ हजार ६७२ जनाको खातामा पहिलो किस्ताबापतको पैसा जम्मा भइसकेको बताए।

उनले काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने प्रयास भइरहेको छ भने।

काठमाडौँको तीनकुनेमा वृद्धको महिमा झल्कने गरी शान्तिपार्क निर्माण गर्न काठमाडौँ महानगरपालिकालाई निर्देशन दिइसकेको बताउँदै स्थानीय निकायको निर्वाचन मङ्सिरमा गर्न सकिन्छ, तर केही राजनीतिक दलले दोहोरो किन गर्ने भनेर दबाब र सुझाव दिएको हुँदा राजनीतिक दलबीच सहमति कायम गरेर चाँडोभन्दा चाँडो निर्वाचन गराउन सरकार क्रियाशील छ– मन्त्री थापाले भने । व्यवस्थापिका–संसद्को अर्का बैठक भोलि असार २५ गते शनिबार दिनको १ बजे बस्ने छ । रासस