१७ असोज, लखनउ (भारत) ।

बप्पश्री भोकेसनल ट्रेनिङ सेन्टरबाट आइएस्सी गरेका सुरज शर्मा लखनउमा रिक्सा चलाउँछन्। योग्यताअनुसार जागिर नपाउँदा आफ्नै देशमा वितृष्णाको भारी बोकिरहेका उनी पछिल्लो समय नेपालमा नाकाबन्दी गरेको खबरले दुःखी देखिए। ‘नाकाबन्दी गर्नु एकदमै गलत हो,’ उनले भने, ‘यसले भारतलाई नै घात गर्छ।’

नेपालसँग सीमा जोडिएको भारतको प्रमुख राज्य उत्तर प्रदेशको राजधानी लखनउमा केन्द्र सरकारले नेपालमा लगाएको अघोषित नाकाबन्दीबारे आमभारतीयको धारणा सुरजको भन्दा भिन्न छैन। रिक्सा चलाउने मजदुरदेखि राजनीतिक नेतृत्व सम्हाल्ने नेताले यसलाई आ–आफ्नै शैलीमा ‘आत्मघाती कदम’ को संज्ञा दिए। विश्व परिदृश्यमा उदाइरहेको भारतको छिमेकीमाथि ‘राज गर्न खोज्ने’ सानो चित्तले उसकै यात्रामा ठेस लाग्ने उनीहरुको भनाइ छ।

indianepal-flag

भारतीय जनता पार्टीका उत्तर प्रदेश उपाध्यक्ष सत्यदेव त्रिपाठीले त मोदी सरकारको असफल विदेश नीतिले देशलाई दीर्घकालसम्म नोक्सानी गर्ने बताए। ‘सदियौँदेखिको असल छिमेकीलाई चिढाएर भारतले के पाउँछ?’ उनले प्रश्न गरे, ‘यसले उल्टै देशलाई नोक्सानी गर्छ।’

खुला सीमाको कारण नेपालसँग उत्तर प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध गहिरो छ। नाकाबन्दीको असरले ती सबै सम्बन्धमा एकैपटक दरार ल्याइदिएको छ। लखनउमा मजदुरी गर्ने बहराइच जिल्लाका रविराम हरिजनले आफ्नो देशले गल्ती गर्दा नेपालपट्टि गएर मुख देखाउनै लाज लाग्ने अवस्था आएको बताए। ‘जेजस्तो भए पनि अहिलेसम्म मिलेरै बसेका थियौं,’ उनले भने, ‘अहिले हाम्रै देशको कारण हामी जनतालाई नै टुटाउने काम भएको छ।’

नाकाबन्दीले नेपाली जनजीवनमात्र अस्तव्यस्त भएको छैन, भारतीय व्यापारमा समेत गिरावट आएको छ। यसले द्विदेशीय अर्थतन्त्रलाई प्रभावित गर्नुका साथै व्यापारिक अहित हुने उत्तर प्रदेशका व्यापारी बताउँछन्। व्यापारीको साझा संस्था उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डलका अध्यक्ष बनवारीलाल कंछलले नाकाबन्दीको कारण नेपालको लागि हिँडेका सयौं मालबाहक सवारी नाकामा रोकिएका बताए। ‘त्यसको घाटा नेपाल र नेपालीलाई मात्र भएको छैन,’ उनले भने, ‘हाम्रै सरकारको कारण हामी व्यापारीको व्यवसाय चौपट भएको छ।’ आजको नागरिकमा खबर छ ।