१० पुस, भक्तपुर।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको संविधान राम्रो बने पनि जनतामाझ प्रचार हुन नसक्दा भ्रम फैलाउने काम भएको बताएका छन् ।

अन्नतलिङ्गेश्वर नगरपालिकास्थित अनन्तलिङ्गेश्वर महादेव मन्दिर परिसरमा आयोजित धान्य पूर्णिमा एवम् निर्माणाधीन गणेश मन्दिरको शिलान्यास गर्दै मन्त्री राईले संविधान जारी भएसँगै यसको सबल पक्ष एवम् जनताको हकका बारेमा जनतामाझ प्रचार हुन नसक्दा संविधान विरोधी तत्वले भ्रम फैलाउन खोजेको बताए ।

उनले भने— “नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो, यो संविधानले देशको सबै जातजाति, भाषाभाषी, धर्म, महिला, आदिवासी, मधेसी सबैको हक स्थापित गरेको छ ।” मधेसमा संविधानका विषयमा फैलाइएको भ्रमलाई चिर्नुपर्ने बताउँदै उनले संविधानले स्थापित गरेको जनताको हकका बारेमा गाउँगाउँमा प्रचार गर्ने अभियानलाई सफल पार्नुपर्ने बताए ।

सरकारका प्रवक्ता राईले जनसङ्ख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र निर्धारण हुन नहुने धारणा राख्दै नेपालको भौगोलिक समस्या र विकटताका कारण जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताए ।

मन्त्री राईले नेपालको धार्मिक सम्पदालाई पर्यटकीय आगमनको केन्द्र बनाउन जरुरी रहेको पनि औँल्याए ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना रहेको सो क्षेत्रमा पूर्वाधार एवं भौतिक संरचना निर्माणलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्दिरको निर्माण गुरुयोजनाका इन्जिनियर कुमार उप्रेतीले मन्दिरलगायतक संरचना निर्माणका लागि रु आठ करोड ८४ लाख लाग्ने जानकारी दिए । सो अवसरमा अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष शालिकराम न्यौपानेले मन्दिर निर्माणको गुरुयोजना मन्त्री राईलाई प्रदान गरेका थिए । रासस