१४ मंसिर, खोटाङ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण गत जेठमा झिकिएको अस्थायी बेलिब्रिज आजबाट पुनः सञ्चालनमा ल्याइएको हो ।

अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङको सदरमुकाम दिक्तेलबाट राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्लाका लागि सिधा यातायात सेवा सुरु भएको छ।

बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट दैनिक तीनवटा बस काठमाडौँका लागि छुट्ने गरेको यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए ।

जयरामघाटमा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाबाट सहर जानआउन तथा दैनिक उपभोग्यवस्तु ओसार÷पसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घ, खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रिज वर्षा लागेपछि झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ ।

जयरामघाटमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापर्बाहीका कारण समयमा सम्पन्न हुन नसकेपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । पुल निर्माणको ठेक्का लिएका हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनको आपसी कलहका कारण निर्माण कार्य अलपत्र परेको हो ।

विसं २०६६ भदौबाट निर्माण कार्य थालिएको जयरामघाटको पक्की पुल अझै सकिएको छैन । उक्त पुलका लागि हालसम्म पिल्लर हाल्ने काममात्र भएको छ । रासस