२३ असार, काठमाडौं ।

सङ्घीय गणतन्त्र जर्मनीले ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न रु तीन अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गरे ।

Germany map

त्यस अवसरमा राजदूत मायरले नेपाललाई राजनीतिक रुपमा मात्र नभई आर्थिक विकासका काममा पनि निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सोचका साथ अघि बढेमा लक्ष्य हासिल गर्न कठिनाइ नहुने बताए ।

भूकम्पबाट उत्पन्न असहज परिस्थितिप्रति सहानुभूति व्यक्त गर्दै उहाँले नेपालको पुनःनिर्माणमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । संविधान लेखनका निम्ति दलहरूबीच भएको सहमति तथा संविधानसभाले पारित गरेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाको उनले स्वागत गरे ।

अर्थसचिव शर्माले नेपालको सामाजिक–आर्थिक विकासमा जर्मन सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै नयाँ संविधान प्राप्तिसँगै नेपालको आर्थिक विकासका गतिविधि बढ्ने वातावरण बनेको बताए ।