९ असोज, काठमाडौं । बुढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार संयुक्त रुपमा बसेको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा कम्पनीलाई दिने निर्णयसहित सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको हो ।

गत जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको थियो । यो निर्णयको चौतर्फी विरोधसमेत भएको थियो । सरकारले बूढीगन्डकी आयोजना स्वदेशी लगानीमा नै बनाउने भन्दै यसअघि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ करसमेत लगाएको थियो ।

जसबाट करोडौं रुपैयाँ सरकारले उठाइसकेको छ । बूढीगन्डकीको निर्णय गर्दा प्रचलित कानुन र नियम मिचेको ठहर समितिले निश्कर्ष निकालेको छ । समितिले स्वदेशी लगानीमा नै यो आयोजना बनाउन सरकारलाई निर्देशनसमेत दिएको छ ।