१ भदौ, काठमाडौं ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका गोविन्द आचार्य र तिर्थ कोइरालाले दुई जनामा जसले जिते पनि मिलेर काम गर्ने बताएका छन् । मिडिया इन्टरनेशनलमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्षका दाबेदार आचार्य र कोइरालाले यस्तो बताएका हुन् ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले दुबै जनाले नहार्ने बताए । ‘निर्वाचनमा जसले जिते पनि एक जना अध्यक्ष र अर्को सल्लाहकार हुनेछ’ कार्यक्रममा बोल्दै आचार्यले भने –‘हामी दुबै हार्दैनौँ, एक जना अध्यक्ष भए अर्को सल्लाहकार हुन्छौं ।’

निर्वाचनको तिब्र तयारी भए पनि अन्तिम समयमा आफूलाई कोइरालाले समर्थन गरी उम्मेदवारी फिर्ता लिनेमा आशावादी रहेको आचार्यले बताए । उनले भने –‘तिर्थ दाई अग्रज हुनुहुन्छ, उहाँलाई सल्लाहकारमा बस्न सुहाउँछ पनि ।’ अग्रज र जेठा भएका कारण कोइराला अध्यक्ष पदमा नभएर सल्लाहकारमा बस्नुपर्ने आचार्यको भनाई थियो ।

अध्यक्षका अर्का उम्मेदवार तिर्थ कोइरालाले पत्रकार महासंघको राजनीति आफूले हालसम्म नगरेको भए पनि महासंघलाई नजिकबाट नियालेको बताए । ‘महासंघको राजनीति म जान्दिन, अहिले स्वतन्त्र नै उम्मेदवार हुँ’ कार्यक्रममा बोल्दै कोइरालाले भने– ‘परिस्थितीका कारण एउटा माउ पार्टीको सहयोग लिएको हुँ ।’

उनले सैद्धान्तिक रुपमा कांग्रेस, माओवादी, एमाले लगायतका सबै पार्टीले सहयोग गर्ने बचन दिएको भए पनि प्राविधिक रुपमा कुरा नमिलेपछि एउटा पार्टीको छायाँमा पर्नुपरेको बताए ।

पत्रकार पेन्सनको प्रसंग निकाल्दै उनले आफू सरकारले पत्रकारलाई पेन्सन दिनुपर्छ भन्नेको विपक्षमा रहेको बताए । जुन मिडिया हाउसमा काम गरेको हो त्यहि मिडिया हाउसले पत्रकारलाई क्षमता अनुसार पेन्सन दिनुपर्ने उनको धारण थियो ।

अध्यक्षका उम्मेदवार आचार्यलाई नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र प्रेस सेन्टर नेपालको समर्थन रहेको छ भने कोइरालाई नेकपा एमाले निकट प्रेस चौतारी नेपालको समर्थन रहेको छ । आचार्य पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।