बोमलाल गिरी । ८ बैशाख, काठमाडौं ।

सरकारले जाजरकोटमा फैलिएको रोग अझै पुष्टि हुन नसकेको बताएको छ । परीक्षणमा आएका मध्ये जम्मा २० देखि २५ प्रतिशतमा मात्रै स्वाईन फ्लु देखिएको भन्दै अरु के कारणले विरामी भए र मृत्यु भएको हो भनेर अझै पुष्टि हुन नसकेको स्वास्थ्य सेवा विभाग ईमाडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले जानकारी दिए । गृहमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख डाक्टर मरासिनीले, मरिसकेका मान्छेको शव परिक्षण हुन नसक्ने भएकाले, मृत्युको कारण पहिचान गर्न नसक्ने बताए ।

home ministry press meet 1

टाले गाउँमा एस एल सीको परीक्षा केन्द्रमा परीक्षा दिन आएका विद्यार्थीबाट महामारि फैलिए पनि टाले गाउँमा भने कसरी पुग्यो भनेर भन्न नसक्ने महाशाखाको भनाई छ ।

सरकारले आजसम्म जाजरकोटका प्रभावित ९ गाविसमा १८ जना डाक्टर, ५६ स्वास्थ्यकर्मी र ६३ जना स्वयंसेवक खटाएको र मंगलबार मात्र थप १० डाक्टर र २३ जना स्वास्थ्यकर्मी परिचालन गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद साप्कोटाले बताए । उपचारका लागि विरामी आउने क्रम घटेको भन्दै सरकारले महामारि नियन्त्रणमा आइसकेको बताएको छ ।

हुनत सरकारले यस्तो दावी गर्न थालेको जाजरकोटमा १२ जनाको मृत्यु भएदेखि नै हो । जुन संख्या अहिले दोब्बर भइसकेको छ । तर गएराती नै स्वाईनफ्लु र मौसमी रुघाखोकीका कारण मृत्यु हुनेको सङख्या २६ पुगेको छ । रामीडाँडा गाविस वडा नं ७ का ६१ वर्षीय लालवीर नेपालीको गएराति मृत्यु भएसंगै मृत्यु हुनेको सङख्या २६ पुगेको हो ।
अझै स्वास्थ्यकर्मीको अभाव
सरकारले जाजरकोटका ९ गाविसमा मात्र महामारि फैलिएको बताएको छ । तर १५ गाविस उच्च जोखिममा रहेका एमाओवादी जाजरकोटका सभासद् शक्ति बस्नेतले बताए । जाजरकोटका जिल्ला स्वास्थ्य प्रमुख धिरज साहका अनुसार ढिमे, पजारु, गर्खाकोट, जुंगाथापा, र स्याउलीमा स्वास्थ्यकर्मीको टोलि पुग्न सकेको छैन । सरकारी तथ्यांक अनुसार पजारुमा २ र गर्खाकोटमा एक जनाको मृत्यु भइसकेको छ । विरामी आउने क्रम रोकिएको छैन ।

अहिलेसम्म महामारिबाट २४ जनाको मात्र मृत्यु भएको महाशाखा प्रमुख मरासिनीले जानकारी दिए । जाजरकोटमा सन् २००९ मा फैलिएको झाडापखलाबाट एक सय ५४ जनाको मृत्यु भएको थियो ।

एमाओवादीको आक्रोश
सरकार जाजरकोट र आसपासका जिल्लामा फैलिएको महामारि नियन्त्रण गर्न असफल भएको भन्दै एमाओवादीले गम्भीर आपत्ति जनाएको छ । सिंहदरवारमा पत्रकार सम्मेलन गरी एमाओवादीको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी पुगेका ठाउँमा रोग नियन्त्रणमा आए पनि अन्य ठाउँमा नियन्त्रण हुन नसकेको बताएको हो । विभागका प्रमुख गिरिराजमणी पोख्रेलले यो संक्रमणलाई महामारि भएको घोषणा गरी ठोस कदम चाल्न आग्रह गर्दै आफूहरु सरकारलाई सबै सहयोग गर्न तयार भएको बताए ।

Maoibadi Press meet on Jajarokot (1)

एमाओवादीले हेलिकोप्टर सेवामा आधारित घुम्ती स्वास्थ्य टोली आवश्यक रहेको भन्दै तत्काल टोली खटाउन सरकारसँग माग गरेको छ । त्यस त्यस क्षेत्रका जिल्ला अस्पतालको स्तर बृद्धि गरी ५० शैयाको बनाउन पनि माओवादीले आग्रह गरेको छ ।

सरकारकी कुरा नै मिलेन
मौसमी फ्लुका कारण कालिकोटमा पनि करिब १ सयजना बिरामी परेका छन् । मेहलमुढी–५ र रामनाकोटका स्थानीय मौसमी प्mलुबाट पीडित बनेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटले दुई गाविसमा बिरामी भेटिएको पुष्टि गरेको छ । जिल्लाबाट खिटिएको एकीकृत घुम्ती शिविरको टोलीले महलमुढी गाविसका ७१ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको निमित्त प्रमुख हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

तर गृहमन्त्रालयको पत्रकार सम्मेलनमा जनस्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद साप्कोटाले कालिकोट र रुकुममा थप विरामी नदेखिएको भन्दै समस्या नभएको दावी गरे । कालिकोट र रुकुममा रोग नियन्त्रणमा आएको र उपचारका लागि आएका सबै निको भएर फर्केका साप्कोटाको भनाई छ । जुम्लामा सरकारले ३ वटा हेल्थ डेस्क स्थापन गरि सचेतता पूर्वका काम गरेको र आत्तिनु पर्ने अवस्था नभएको उनको भनाई थियो ।

Maoibadi Press meet on Jajarokot (2)
खत्रीका अनुसार कालिकोटका ती बिरामीमा स्वाइन् फ्लुको जस्तै लक्षण देखिएपनि, पुष्टि हुन सकेको छैन । स्वास्थ्य परीक्षण गरेकामध्ये तीनजना गम्भीर अवस्थामा रहेकोले निगरानीमा राखिएको छ । उनीहरुमा देखिएको रोगको थप पहिचानको लागि जनस्वास्थ्य कार्यालयको टोली लागिपरेको निमित्त प्रमुख क्षेत्रीले जानकारी दिए । डोल्पादेखि दैलेखसम्मका अरु जिल्लामा पनि विरामीको संख्या बढ्न थालेको भन्दै एमाओवादीले प्रकोप प्रभावित जिल्ला घोषणा गर्न माग गरेको छ ।