३९ माघ, नकाराकास।

जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ। जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिएका छन्।

लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो। दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि पनि सङ्क्रमण देखिएको थियो। यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ।

राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो जानकारी दिएका थिए। उनले भने– “देशव्यापी रुपमा यसको प्रभाव देखिएको छ र दुर्भाग्यबस आजसम्ममा तीनजनाको ज्यान गएको छ।”

उनले ६८ जना विरामीलाई उनीहरुको गम्भीरताका कारण सघन उपचार कक्षमा राखेर नै उपचार सुरु गरिएको पनि जानकारी दिए।

विभिन्न देशले औषधि तथा उपचार प्रविधि सहयोग गरिरहेकोमा धन्यवाद दिँदै उनले सबै विरामीको राम्रो उपचारका लागि आवश्यक मात्रामा औषधि र प्रविधि उपलब्ध रहेको जानकारी दिए।

दक्षिण अमेरिकी देशले पछिल्लो समयमा जिका भाइरसका विरुद्धमा सङ्घर्ष गरिरहेको समाचार आइरहेका बेला भेनेजुएलाका राष्ट्रपतिको यो भनाई आएको छ। यो सङ्क्रमणबाट सबैभन्दा धेरै सङ्क्रमितहरु ब्राजिलमा रहेका छन्। ब्राजिलमा कम्तीमा पनि १५ लाख नागरिक प्रभावित भएका छन्।

सन् २०१५ को सुरुवातदेखि नै यस सङ्क्रमणको असर सुरु भएको हो। सो असरबाट दक्षिण अमेरिकी देशहरु बढी प्रभावित भएका छन्। यस सङ्क्रणको असरका कारण विश्व स्वास्थ्य संगठनले यसलाई विश्वमा नै एक खतरनाक महामारीको सूचीमा राखेको छ। रासस÷एएफपी