३० फागुन, खलङ्गा । जुम्लामा आज भारी हिमपात भएको छ । हिमपातले गर्दा जुम्ला हिउँले सेताम्य बनेको छ ।

हिमपातले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । बेमौसममा परेको हिमपातका कारण जुम्लाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै हिउँ परेको तिला गाउँपालिका–१ का किसान नरजित बुढाले बताए ।

फाइल फाेटाे

फागुन अन्तिममा बर्सातसँगै हिउँले यहाँका स्थानीयवासीले लगाइएको बालीनालीलाई फाइदा पुग्नाका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने रावतले बताए । बर्सातसँगै शुरु भएको हिमपातपछि जुम्ला विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका स्थानीय जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुम्ला विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका यहाँका सर्वसाधारणले बताएका छन् । रासस