५ भदौ, जुम्ला ।

सरकारले कर्णालीवासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय -यालीका साथ सरकारलाई जुम्लावासीले धन्यवाद ज्ञापन गरेका छन् ।

कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिङ्गो कर्णालीवासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैठौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको धारणा राखे ।

उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्याङ्कन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिएका थिए । रासस