३ साउन, गौशाला।
महोत्तरी जिल्लाको अति विकट खयरमारा गाविसमा आज बिहान झुन्डिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।

खयरमारा गाविस–८ बस्ने ७० वर्षीया लालमाया स्याङ्गतानको शव उनको आफ्नै घरको बार्दलीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति ९ बजे परिवारका सबैले खाना खाएर सुतेकोमा वृद्धा स्याङ्गतानको शव आज बिहान सलको पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

वृद्धा स्याङ्गतान के कति कारणले मृत्यु भएको हो यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

महोत्तरीको आधा दर्जन नदीमा बाढी आयो

शनिबार रातिदेखि आइतबार साँझसम्म अबिरल मुसलेधार पानी परेपछि महोत्तरी जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा बाढी आएको छ ।

लगातारको भीषण वर्षासँगै जिल्लाको रातु, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी र मरहा नदीमा बाढी आएको स्थानीयले बताएका छन् ।

विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ । रासस