अशोक महर्जन

२१ पुस, काठमाडौं ।
भुकम्पको आठ महिना वितिसक्दा पनि राजधानीमा भुकम्पले भत्केका पुराना संरचनाहरु व्यवस्थित भएको छैनन। वैशाख १२ गतेको भुकम्पपछि टेकोको भरमा रहेका यहाँका घरहरु न भत्काइएका छन् न त पुर्ननिर्माण नै भएको छ।

ghar teko lageko kathmandu supoort house

अझै सम्म पनि टेकोको भरमा अड्याईएका घरमा नै बसोवास गर्दै आएका छन् कतिपय सर्वसाधारण । उपत्यकामा पुराना संरचनाका घरहरु प्रायः टेको कै भरमा अड्याईराखिएको छ।सर्वसाधारण हिँडने मुलावाटोको बिचमै टेको गाडेर पुराना घरहरु ठड्याईराखिएका छन् ।

उपत्यकामा कयौँ यस्ता जोखिमयुक्त भवनहरु यतिकै अव्यवस्थित छन् ।  चारपाँच वटा टेको एउटै घरमा देख्न सकिन्छ। कतिवेला सम्म टेकोले थाम्ने हो भर छैन् । दिनहुँ स–साना बालवालिका देखि वृद्धहरु समेत जोखिमयुक्त पुराना घरका मुनिबाट हिँडडुल गर्ने गर्छन् । दैनिक जोखिम मोल्दै गन्तव्यतर्फ लाग्ने गर्छन् उनीहरु । यस्ता जोखिमयुत्त घरहरुको उचित व्यवस्थापन न घरधनी स्वयमले गर्न सक्ने स्थिति छ न सरकारी तर्फवाट कुनै पहल ।

बैशाख १२ को भुकम्पपछि अहिलेसम्म पनि स–साना पराकम्पहरु रोकिएका छैनन् । भुकम्प पीडितलाई सरकारले दिने राहत अहिलेसम्म भुकम्पपीडितले पाएका छैनन झन् यो नाकाबन्दी पछि त सर्वसाधारणले पुर्नसंरचना तथा पुर्ननिर्माण त कल्पना नै सीमित गर्नु परेको छ।

सबै कुराले समय अनुकुल छैन् र यस्तो प्रतिकूल स्थितिमा पुर्ननिर्माण र पुर्नसंरचनाको पहल निकै कठिन छ । अहिलेको अवस्थामा पुर्ननिमाणको लागि पर्याप्त कच्चा पदार्थको अभाव छ र महंगीले आकाश चुलिँदो छ । यथास्थितिमा पुर्ननिमार्ण तथा पुर्नसंरचनाको काम प्रायः असम्भव छ । भारतीय नाकावन्दीले सर्वसाधारणलाई दैनिकी गुजारा चलाउन नै कठिन भएको स्थितिमा घर पुर्ननिर्माण गर्ने अवस्था छैन् ।

अहिलेसम्म सरकारले घर पुर्नसंरचना तथा पुर्ननिर्माण लागि कुनै ठोस कार्य गर्न सकेको छैन। उपलव्धि शुन्य बराबर छ। यो हिँउदे मौसममा पनि घर पुननिर्माण गर्न सकिएन भने आगामी वर्षाको बेला झनै कठिन हुने र उपलव्धि विना यो वर्ष पनि खेरजाने देखिन्छ।

अहिलेसम्म सर्वसाधारणहरु अन्यौलमै छन्। कहिले स्थायी बसोवासको व्यवस्थापन गर्ने भन्ने कुरामा उनीहरु अनभिज्ञ छन् । जतिसुकै भुकम्पीय जोखिमका बावजुद पनि सर्वसाधारण त्यही टेकोले अड्याईराखेको घरमा बसिरहेका छन् ।

राजधानीको मुलबजारक्षेत्रमा रहेका धेरै पसलहरु जोखिमयुक्त भवनको तल्लो तल्लामा नै रहेका छन् । भुकम्प अघि देखि नै राखिराखेका ती पसलहरु बन्द गर्ने आँट न व्यापारी ले गर्न सकेका छन् न त्यसको पुनर्निमाण घरधनीले। सर्वसाधारणको बढी आवतजावत हुने पाटनको गाःवहालदेखि काठमाडौंको मखनटोल सबैतिर टेको कै भरमा घर अडिरहेको छ ।

पाटनको गाःवहालमा कपडा पसल राखिरहेका शरणगोपाल डँगोल भन्छन्, ‘के गर्ने दैनिक गुजाराको मुलवाटो बन्द गर्न पनि सकिदैन नि, जतिसुकै जोखिममा भएपनि पसल चलाईराखेका छौं ।’ यस्तै व्यथा उनिजस्ता धेरै व्यवसायीहरुको बाध्यता छ ।

भुकम्पीय जोखिममा रहेका घरका मुनिबाट सयौं मानिसहरुको आवतजावत हुने हुँदा मानवीय क्षतिको पनि त्यतिकै जोखिम बढी छ । सवारीसाधनको चापको सामान्य कम्पनले पनि कमजोर रहेको घर भत्किन कुनै बेर लाग्दैन । यतिकै जोखिममा चलेको छ काठमाडौ । विशेषत मुख्य बजारक्षेत्रमा रहेका त्यस्ता घरहरुको उचित व्यवस्थापन गर्न सकिएन भने त्यसले ठुलै मानविय दुर्घटना निम्त्याउन सक्ने खतरा छ ।