१५ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामाग्रीहरु किन्नको लागि टेण्डर नपरेपछि छिटो छरितो रुपमा सामान ल्याउन लागेको स्पस्टीकरण दिएको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा टेण्डरबिना नै सामाग्रीहरु ल्याएर अनियमितता गर्न लागेको भन्दै समाचार प्रकाशन तथा प्रसारण गरेपछि मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला र पीपीई लगायतका सामानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक तथा वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटकपटक टेण्डर आह्वान गर्दा समेत कुनैपनि उत्पादक, वितरकबाट टेण्डर पेश नभएकोले विभागले पुनः उत्पाद र वितरकहरुसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटो छरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता भई उक्त सामग्रीहरु नेपाल आउने क्रममा रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विषम परिस्थितिमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यर्थाथलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित र पोस्ट भइरहँदा दिनरात नभनी अहोरात्र खटिरहने चिकित्साकर्मीहरुको मनोबल हहोत्साहित हुने र सामाजलाई भय सृजना हुने हुँदा यस्ता नकारात्मक र भ्राम सामग्री प्रकाशित नगर्न अनुरोध छ ।’