९ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८५५९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे७प ४३७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार चौधरी सो ठक्करबाट घाइते भएका थिए । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक, त्यसका चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्गमा पर्ने रुपनी गाउँपालिका–१ स्थित पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट सोही ठाउँका अकबर मियाँको ५ वर्षीया छोरी कलिम मियाँ घाइते भएका छन् । ती बालिकालाई बाटो काट्ने क्रममा स१च ८६५ नंको भ्यानले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकाको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएको छ । रासस