३ भदौ, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पका कतीपय गम्भिर प्रकृतिका सूचना चुहावटका लागि उनी जिम्मेवार रहेको भन्दै बर्खास्त गरिएको अनुमान गरिएको छ ।

बर्खास्तीपछि ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुनः फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका राजनीतिक, व्यापारिक र सञ्चार क्षेत्रमा रहेका विरोधीहरुविरुद्ध लडिरहने प्रतिक्रिया दिएका छन् ।

ब्याननलाई ट्रम्पको राष्ट्रवादी एजेण्डाका मुख्य सुत्रधार मान्ने गरिन्छ तर उनले रिपब्लिकन पार्टी र ह्वाइट हाउसभित्र कैयौंलाई चिढ्याएको बताइन्छ । ट्रम्पले वरिष्ठ पदमा नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर, नयाँ चिफ अफ स्टाफ जेम्स केली र ट्रम्पका ज्वाइ ज्यारेड कुश्नरसँग ब्याननको कुरा मिल्ने गरेको थिएन ।

हालै उनले अनुमति नलिइ केहि अन्तरवार्ताहरु पनि दिएका थिए जसमा उनले उत्तर कोरियालाई एउटा ‘प्रदर्शनी’ को संज्ञा दिएका थिए । यसअघि ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर, सञ्चार निर्देशक एन्टोनी स्कारामुची र चिफ अफ स्टाफ राइन्स प्रिबस ह्वाइट हाउसबाट बाहिरिएका थिए ।