२५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरा पुगेर अनशन बसिरहेका डाक्टर गोबिन्द केसीले आफूलाई जर्वजस्ती काठमाडौं पठाउन खोजेको भन्दै प्रहरीलाई थर्काएका छन् ।

उनको स्वास्थ्य अवस्था कमजोर बनेको र सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने डाक्टरहरुको सुझाव अनुसार सरकारले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर पठाएको थियो । तर उनी आउन नमानेपछि हेलिकप्टर रित्तै फर्कियो । प्रहरीले डाक्टर केसीलाई सम्झाउन खोज्दा उनले भने, ‘ए डिएसपी! म डाक्टर हुँ जनताको सेवक । तिमिहरु जनताको शत्रु रहेछौ ।’ यति भनेपछि ति डिएसपीले ‘हामी तपाईकै सुरक्षाका लागि आएका हौं’ भने ।

त्यसपछि डाक्टर केसीले थपे, ‘तिमिहरु जनताको सेवक कि ओली (प्रधानमन्त्री) को सेवक ? मेरो सुरक्षाका लागि आएको भए मैले भने अनुसार हुनुपर्यो नि !’ उनले आफू ठिक रहेको र कतै नजाने बताए । उनले डडेल्धुरा अस्पतालका डाक्टरलाई पनि आफूलाई नसोधी रिफर लेखेको भन्दै असन्तुष्टि जनाएका थिए ।