२५ भदौ, काठमाडौं ।

१४ दिनको अनशन तोडेको एक साता नबित्दै अर्को अनशन शुरु गर्ने तयारी गरेपनि डाक्टर गोविन्द केसीले शुक्रबार देखि शुरु गर्ने भनिएको सातौं चरणको अनशन १ साताका लागि स्थगित गरेका छन् ।

स्वास्थ्य क्षेत्रको विकृति र माफियातन्त्र अन्त्य गरिनुपर्ने माग गर्दै छैटौं चरणमा १४ दिन अनशन बसेपछि गरेको सहमति कार्यन्व्यनमा पनि सरकारले छलकपट गर्न खोजेको भन्दै सातौं चरणको अनशन बस्न खोजेका प्राध्यापक डा. गोविन्द केसीले सरकारकै आग्रहमा १ साताका लागि अनशन स्थगित गरेका हुन् ।

Govinda KC

गोविन्द केसीले सञ्चारकर्मीलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा देशमा नेतामुखी संविधान बनाउने प्रयास भैरहेको भन्दै बनेका कानून र सहमतिको समेत पालना नगर्ने अवस्था रहेको प्रति कटाक्ष गरेका छन् । राजनीतिक सन्देशकोरुपमा जारी उनको विज्ञप्तिमा देशभरी भैरहेको तनावलाई साम्य पार्न वार्ता र सहमतिको विकल्प खोजिनु पर्ने सुझाव दिइएको छ । उनले कानून, नियम र सहमति सम्झौता बनाउनु भन्दा पनि त्यसको पालना मुख्य विषय रहेकोमा जोड दिँदै आफूसँग सहमति गर्ने र सँधै छलकपट गर्ने प्रवृत्तिप्रति आक्रोश पोखेका छन् ।

Govinda KC press relese

गत साता भएको सहमतिमा पहिलो मन्त्रिपरिषद् पहिलो बैठकबाटै चिकित्सा शिक्षा आयोग गठन गर्ने उल्लेख गरिएको थियो । तर, सरकारले सहमतिलाई मन्त्रिपरिषद् अन्तरगतको सामाजिक समितिमा पठाएपछि पुनः छलकपट शुरु भएको भन्दै केसीले पुनः अनशन बस्ने घोषणा गरेका थिए । देशभरीको अवस्था तनावग्रस्त रहेको र सहमतिका लागि केही समय दिन भन्दै सरकारले आग्रह गरेपछि अनशन स्थगित गरेको जानकारी डा केसीले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।

सहमति कार्यन्वयनका लागि भदौ ३१ गतेको समयसीमा दिएका डा केसीले आगामी साता भित्र सरकारले माग पुरा नगरे आगामी शुक्रबार पुनः अनशन थाल्ने स्पष्ट पारेका छन् ।

राजनीतिक सन्देशः

गान्धीबादी आन्दोलनको अनुशरण गरेर नेपाली अन्ना हजारेकोरुपमा चिनिने डा गोविन्द केसीले यस पटक देशको राजनीतिक अवस्थाप्रति गम्भिर चिन्ता ब्यक्त गरेका छन् । अनशनरत अवस्थामै विविसीसँगको अन्तवार्तामा देशको अवस्थाबारे कुरा गर्दै भक्कानो छोडेर रोएका गोविन्द केशीले शुक्रबार नेपाली हेडलाइन्ससँग विशेष कुरा गर्दै देशको परिस्थितिले आफू निक्कै दुःखी भएको बताएका छन् ।

Govinda KC strike

देशभरी देखिएको तनाव अन्त्य गरेर सार्थक संविधान जारी गर्नका लागि असन्तुष्ट सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग वार्ता गर्नु पर्ने उनको भनाइ छ । देशभरी तनाव भैरहँदा पनि ठूला नेताले संविधान रोकिँदैन भन्ने गरेकोप्रति इङ्गित गर्दै उनले भने ‘हामी नेपाली दाजुभाइको हक अधिकारलाई कुण्ठित गर्दै अघि बढ्न खोज्यो भने अनिष्ट हुन्छ । सबैको अभिमत समेटेर संविधान बनाउन सकिएन भने त्यो प्रभावकारी हुँदैन । उनीहरुलाई नकारेर असन्तुष्टीलाई दवाएर संविधान बनाउँदा नेतामुखी हुन्छ ।’

भावुक मुद्रामा डा केसीले भने ‘आन्दोलनकारीसँग बसेर वार्तामा बस्नु पर्छ । आन्दोलनकारीसँग बसेर सुझाव समेट्नु पर्छ । उनीरुलाई मनाउनु पर्छ । संविधानलाई द्रुत गतिमा राखेर अघि बढ्न खोज्दा देशमा भयावह जान्छ ।’