१९ भदौ, काठमाडौँ।

दिवङ्गत डा स्वामी प्रपन्नाचार्यको सम्झनामा विसं २०७३ साउन ११ गते स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ ।

उहाँको मृत्युको सोह्रौैँ दिनको उपलक्ष्यमा उहाँको उपचारमा सहयोग जुटाउन गठन गरिएको डा स्वामी प्रपन्नाचार्य सहयोग समितिले आज आयोजना गरेको भन्डारा एवम् स्मृति कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

स्मृति ग्रन्थको प्रकाशन कर्मयोगी बद्रीविक्रम थापा सेवा स्मृति गुठीले गर्ने निर्णय भएको कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा नेपालमा नाम कहलिएका सन्तहरु डा रामानन्द गिरी, ज्ञानानन्द सरस्वती, हरिहरानन्द सरस्वती र गौरव पुरीको समेत उपस्थिति रहेको थियो ।

सन्तहरुले प्रपन्नाचार्य राष्ट्रकै गुरुको सम्मानमा पुग्नुभएका व्यक्तित्व, अद्वितीय सम्पदा पाइकन पनि नेपाल र नेपालीले नचिनेको र उनका अप्रकाशित कृतिलाई कुहिन दिनु नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा भारतको गोरखनाथका पीठाधीश आदित्यनाथले प्रपन्नाचार्यको निधनमा शोक वक्तव्य पठाउँदै नेपाल र भारतमै अब यस्ता सन्त जन्मन नसक्ने बताएका छन्।

सहयोग समितिका संयोजक एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले स्वामी प्रपन्नाचार्यका कृति खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।