६ साउन, काठमाडौं ।
नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी) तथा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । डिआइजी बढुवामा अन्याय भएको भन्दै एसएसपी सुभाषचन्द्र चौधरीले उजुरी गरेका हुन् । मंगलबार उनले उजुरी सुन्ने समितिसमक्ष पुनरावेदन माग गरेका छन् ।

जुनियरलाई बढुवा गरी वञ्चित गरेको आरोप
जुनियर एसएसपीलाई बढुवा गरेर आफूलाई नियतवश बढुवा हुनबाट वञ्चित गरेकाले उजुरी गरेको एसएसपी चौधरीले बताए । ‘बढुवामा परेका जुनियरभन्दा म तीन वर्षले सिनियर छु,’ उनले भने, ‘वरिष्ठताबापत मात्र साढे सात नम्बर बढी हुन्छ, म छुट्नुपर्ने कारण नै छैन, नियतवश बढुवाबाट वञ्चित गरेकाले न्याय माग्न उजुरी गरेको हुँ,’ उनले नयाँ पत्रिकासँग भने । पुनरावेदन समितिबाट न्याय नपाए आफू अदालत जाने उनको भनाइ छ । चौधरी अञ्चल प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् । गृहसचिव लोकदर्शन रेग्मी अध्यक्षताको बढुवा समितिले शनिबार १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

एसपी पाण्डेले पनि दिए निवेदन
एसएसपी बढुवा सिफारिसविरुद्ध एसपी विभूतिराज पाण्डेले पनि उजुरी दिएका छन् । उनले मंगलबार उजुरी गरेका हुन् । आफूभन्दा तीन वर्ष जुनियर १०-१२ जना एसपी बढुवामा पर्दा आफूलाई छुटाइएकाले उजुरी गरेको पाण्डेले बताए । उनले दुई वर्षअघि कारबाहीस्वरूप नसिहत पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहँदा गाँजा फँडानीमा चासो नदिएकामा उनी कारबाहीमा परेका थिए । सोही कारण उनलाई बढुवा सिफारिसबाट छुटाइएको थियो । तर, नसिहत एक वर्षसम्म मात्र रहने भएकाले बढुवामा आफूमाथि अन्याय भएको उनको भनाइ छ । आफूभन्दा जुनियरलाई स्यालुट गर्न नसक्ने भएकाले उजुरी गर्दा पनि बढुवा नभए राजीनामा दिने पाण्डे बताउँछन् । शनिबार बढुवा समितिले २५एसपीलाई एसएसपी बढुवामा सिफारिस गरेको थियो ।

बढुवा सिफारिसउपर चित्त नबुझेमा उजुरी गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ । बढुवामा लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको उजुरी सुन्ने समितिको प्रावधान छ । जसमा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहनेछन् । सो समितिलाई नम्बर जोड्ने अधिकार भए पनि बढुवा सूची नै हेरफेर गर्ने अधिकार भने दिइएको छैन । बढुवा सिफारिस भएको एक साताभित्र उजुरी गर्न सक्ने र उजुरी गरेको १५ दिनभित्र उजुरी सुन्ने समितिले टुंगो लगाउनुपर्ने प्रावधान छ । उजुरीपछि डिआइजी र एसएसपी बढुवा प्रक्रिया लम्बिने भएको छ ।