३१ साउन, झापा । दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ । लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताइन् ।

उनले भनिन्, ‘डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ ।’ डा प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन् । तीन वर्षअघि पनि दमक क्षेत्रमा डेङ्गु रोग देखापरेको थियो ।

डेङ्गु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ । अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । रासस