१ साउन, काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदै छ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरूको भाका सरेकोसर्यै छ । पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो । मन्त्री सिफारिसका लागि बनेको कार्यदलका सदस्य रमेश लेखकका अनुसार कांग्रेस र माओवादीबीच ३ साउनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । ‘पहिले निर्वाचनमा होमियौँ फेरि संविधान संशोधनमा लाग्यौँ,’ उनले भने, ‘नेताहरू बाहिर हुनुहुन्छ । अब कार्यदलमा भएका साथीहरू फर्किएपछि आइतबार र सोमबार छलफल गरेर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

राप्रपा र संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा समेत छलफल चल्दा केही ढिलाइ भएको उनले बताए । ‘कांग्रेस र माओवादीका मात्र मन्त्री चयनले हामी अल्झिएका होइनौँ,’ लेखकले भने, ‘राप्रपा र संघीय समाजवादीलाई पनि ल्याउने कुरा भइरहेको छ । हामी यसकै छलफलमा छौँ ।’

संविधान संशोधनले ढिलाइ
संविधान संशोधन प्रक्रिया अघि बढाउने सत्तारूढ दलरूको तयारीका कारण पनि सरकार विस्तार ढिलाइ भएको हो । तर, संशोधनमा दुईतिहाइ नपुग्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तार गर्ने निर्णयमा पुगेका हुन् ।

ठूला मन्त्रालयमा समस्या छैन
कांग्रेस र माओवादीबीच आकर्षक मन्त्रालय भागबन्डामा खासै विवाद छैन । गृह, परराष्ट्र र सहरी विकास माओवादीले लिइसकेको छ । कांग्रेसको भागमा अर्थ, शिक्षा र श्रम मन्त्रालय परेका छन् । बाँकी आकर्षक मन्त्रालयमा पनि समस्या नदेखिएको नेताहरू बताउँछन् । माओवादीले स्वास्थ्य र ऊर्जामा दाबी गरेको छ । कांग्रेसले भौतिक पूर्वाधार, सञ्चार, कानुन लिने मोटामोटी सहमति भइसकेको छ ।

कांग्रेसभित्र नेता रामचन्द्र पौडेल पक्षलाई कुन–कुन मन्त्रालय दिने भन्नेमा समस्या देखिएको छ । साथै, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र आफ्नै पक्षका नेतालाई समेत समेटेर मन्त्री चयन गर्न प्रधानमन्त्री देउवालाई सकस परिरहेको छ ।

संविधान संशोधनबारे राजपामा दुई धार

राजपाभित्र संविधान संशोधन र निर्वाचनमा सहभागिताबारे दुई धार देखिएको छ । संशोधनविना निर्वाचनमा जाने कि नजाने भन्ने विवाद राजपामा सुरु भएको छ । आन्तरिक विवादकै कारण १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा राजपा सहभागी भएको थिएन ।

स्रोतका अनुसार संविधान संशोधन प्रक्रियामा जाने क्रममा मतदान हुँदा फेल भए के गर्ने भन्नेमा बढी विवाद देखिएको छ । तत्काल संशोधन पारित हुने अवस्था नभएकाले प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्ने पक्षमा राजपाभित्र ठूलो मत छ । यो धारले संशोधन विधेयक संसद्मा फेल भएको अवस्थामा पनि निर्वाचनमा सहभागी हुनुपर्ने तर्क गरिहेको छ ।

राजपा संयोजक महन्थ ठाकुर, शरत्सिंह भण्डारी र महेन्द्र राय यादव खुलेर निर्वाचनको पक्षमा उभिएका छन् । यो धार तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नहुने र संसद्को प्रक्रियामा विधेयक फेल भए पनि निर्वाचनमा सहभागी हुनुपर्ने अडानमा छ । तर, राजपाको अर्को धारले संशोधन विधेयक प्रक्रियामा लैजानुपर्ने, तर फेल भएको अवस्थामा निर्वाचनमा सहभागी हुन नसकिने अडानमा छ । राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले यो धारको नेतृत्व गरिरहेका छन् ।

मंगलबार कांग्रेस र माओवादी केन्द्रसँग भएको छलफलमा संशोधन विधेयक पारित गराउन एमाले र राप्रपासँग दुवै पक्षले छलफल गर्ने सहमति भएको थियो । तर, योबीचमा एमालेसँग कुनै छलफल भएन । तर, राप्रपाको दुवै पक्षसँग भने छलफल भइरहेको छ । त्यसले प्रगति दिन नसकेको राजपाका नेताहरूले बताएका छन् ।

राप्रपाको सरकारमा सहभागिता अझै अनिश्चित
सरकारमा सहभागी हुने–नहुने विषयमा राप्रपाभित्र विवाद छ । अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाए जाने पक्षमा छन् भने वरिष्ठ नेता पशुपतिशमशेर राणा चार मन्त्रालय मात्रै भए पनि जानुपर्छ भन्नेमा छन् । संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने वा नहुने भन्ने दोधारमै छ । यद्यपि, उपप्रधानमन्त्रीसहित राम्रा मन्त्रालय पाए सहभागी हुने फोरमको तयारी छ । अन्य दलको सहभागिता हुने वा नहुने टुंगो लागेपछि मात्रै कांग्रेस, माओवादी र लोकतान्त्रिक फोरमले कुन–कुन मन्त्रालय लिने भन्ने छिनोफानो हुनेछ । राप्रपा र फोरम नआउने भए पनि प्रधानमन्त्री देउवा सरकार विस्तार गर्ने तयारीमा छन् ।

थाइल्यान्डबाट प्रचण्ड आएपछि मन्त्रिपरिषद् विस्तार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थाइल्यान्डबाट फर्किएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । श्रीमती सीता दाहालको उपचारका लागि शुक्रबार थाइल्यान्ड गएका प्रचण्ड आइतबार स्वदेश फर्कंदै छन् । ‘सम्भवतः आइतबार अध्यक्ष आइपुग्नुहुन्छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘उहाँ फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ ।’ मन्त्री सिफारिसका लागि माओवादीले गठन गरेको कार्यदले नाम टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यालयले कार्यदलको सिफारिसअनुसार नामावलीको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।